प्रचण्डकाे प्रस्ताव ओलीलाई अमान्य
काठमाडौं। शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मालोचना गर्दै मिलेर सरकार चलाउने प्रतिवद्धतापछि तत्कालका लागि साम्य भएको नेकपाभित्रका विवाद फेरि बढ्ने देखिएको छ। नेकपाले बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले सचिवालय बैठकमा आफ्नो राजीनामाको विषय नउठाउन भन्दै नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन्। स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिइएको छ। स्थायी कमिटी बैठकमा लैजाने एजेण्डका विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच सहमति हुन सकेको छैन। मंगलबार दिन भर भएका प्रयाससमेत असफल भएका छन्।
स्रोतका अनुसार प्रचण्डले स्थायी कमिटीमा पेश गर्ने एजेण्डा तयार पारेर मंगलबार त्यसको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए। जसमा प्रधानमन्त्रीले असहमति जनाएका छन्। स्रोतका अनुसार प्रचण्डले शक्ति बाँडफाँडका विषयमा तयार पारेको एजेण्डाप्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका छन्।
प्रचण्डले पार्टी चलाउने कार्यकारी अधिकार आफूलाई दिनुपर्ने र पार्टीको नियन्त्रणमा सरकार चल्नु पर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन्। तर प्रचण्ड पक्षधरले ओलीले शक्तिबाँडफाँडमा आफ्नो प्रस्ताव नमाने स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा किन नमाग्ने भन्ने प्रश्न उठाएको छ, जसलाई माधव नेपाल समूहले समेत समर्थन गरेको छ।
प्रधानमन्त्री ओली विगतको सहमति अनुसार प्रचण्डलाई कार्यकारी अधिकार दिन तयार छन् तर आफूमा पनि अधिकार राख्न चाहन्छन्। तर प्रचण्डले एकअघि आफूलाई कार्यकारी अध्यक्ष दिइए पनि कार्यकारी अधिकार नदिएको भन्दै कार्यकारी अधिकार र सरकारलाई पार्टीले नियन्त्रण गरी सरकार संचालन गर्नुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो।
प्रचण्डले पार्टी चलाउने कार्यकारी अधिकार आफूलाई दिनुपर्ने र पार्टीको नियन्त्रणमा सरकार चल्नु पर्ने प्रस्ताव राखेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन्। तर प्रचण्ड पक्षधरले ओलीले शक्तिबाँडफाँडमा आफ्नो प्रस्ताव नमाने स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा किन नमाग्ने भन्ने प्रश्न उठाएको छ, जसलाई माधव नेपाल समूहले समेत समर्थन गरेको छ।
‘पार्टी र सरकार प्रचण्डको नियन्त्रणमा हुने हो भने प्रधानमन्त्रीको के काम भयो?’ भन्दै प्रधानन्त्री प्रचण्डले पार्टी चलाउने र आफूले सरकार संचालन गर्ने तर पार्टी संचालनमा आफूलाई पनि अधिकार हुनुपर्ने ओलीको अडान छ। जसका कारण विहीबार सुरु हुने स्थायी कमिटी बैठकका एजेण्डका विषयमा सहमति हुन सकेको छैन।
स्थायी कमिटीका एजेण्डाका विषयमा छलफल गर्न आजै सचिवालय बैठक पनि बस्दैछ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामाको विषयले प्रवेश पाए ओलीलाई अप्ठेरो पर्ने बताइएको छ। ४५ सदस्यीय स्थायी कमिटी अहिले ४४ सदस्यीय छ। स्थायी कमिटी सदस्य अग्नि सापकोटा सभामुखमा चयन भएपछि उनले राजीनामा दिएका छन्। स्थायी कमिटीमा ओली पक्ष अल्पमतमा छ। यसअघि नै प्रचण्ड–नेपाल पक्षधर २० जना स्थायी कमिटी सदस्यले लिखित रुपमा बैठक बोलाउन माग गरेका थिए।
आफूलाई अप्ठेरो पर्दा सहमति गर्ने र अनुकुल हुने वित्तिकै उल्लघंन गर्ने प्रधानमन्त्रीको विगतदेखि कै बानी भन्दै प्रचण्डले पूर्ण रुपमा ओलीलाई विश्वास गर्न सक्ने अवस्था नरहेकाले असन्तुष्ट पक्षको गठबन्धन कायम राख्ने निष्कर्षमा निकालेको स्रोतले दाबी गरेको छ।
यता प्रधानमन्त्री केपी ओलीले पनि बिहीबार सुरु हुने स्थायी कमिटी बैठकमा आफूलाई सहज हुने गरी वातावरण बनाउन नेकपाका शीर्ष नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन्। मंगलबार प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग छुट्टाछुट्टै छलफल गरेका थिए।
स्थायी कमिटीमा आफू स्पष्ट रुपमा अल्पमतमा रहेपछि प्रधानमन्त्री ओलीले मंगलबार वरिष्ठ नेता झलनाथ खनालसँग लामो भलाकुसारी गरे। सो छलफलमा खनालले पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएको बताएका छन्।
स्थायी कमिटी बैठकमा गत मंसिरमा दुई अध्यक्षबीच भएको सहमति अनुसार प्रधानमन्त्रीले सरकार चलाउने र प्रचण्डले पार्टी चलाउने विषय प्रवेश पाउने संभावना छ। प्रधानमन्त्री ओलीले भने आफू दोहोरो जिम्मेवारी मै रहन चाहन्छन्। प्रधानमन्त्रीले स्थायी कमिटी बैठकमा पार्टीभित्रको विवाद भन्दा पनि सरकारको नीति तथा कार्यक्रम, बजेट, कोरोना भाइरस नियन्त्रणका विषयमा छलफल हुनु पर्ने बताउँदै आएका छन्।
तर प्रचण्ड–नेपाल पक्षले भने प्रधानमन्त्री सुध्रिने अवस्था नरहेको भन्दै पार्टीभित्रको विवाद, अध्यादेश प्रकरण, एकव्यक्ति एक पदलगायतका विषयमा स्थायी कमिटी बैठकमा घनिभूत छलफल गर्ने पक्षमा छन्। स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षको अत्याधिक बहुमत रहेका कारण कतै स्थायी कमिटीले आफ्नो राजीनामा त माग्ने होइन भन्ने विषयमा प्रधानमन्त्री ओली बढी चिन्तित देखिन्छन्।
Facebook Comment