विदेशमा फसेका हजारौँ नागरिकलाई स्वदेश फर्काउँदै भारत सरकार
बीबीसी । भारत सरकारले देशव्यापी लकडाउन लागु भएपछि विदेशमा रोकिन बाध्य आफ्ना हजारौँ नागरिकलाई स्वदेश ल्याउने योजना घोषणा गरेको छ।
उनीहरूलाई बिहीवारबाट चरणबद्ध रूपमा ल्याउन थालिने अधिकारीहरूले जनाएका छन्। गृह मन्त्रालयका अनुसार विदेशमा फसेका भारतीयलाई विमान र नौसेनाको जहाजबाट ल्याउने काम मे ७ बाट सुरु हुनेछ।
पहिलो साता झन्डै १५,००० नागरिक स्वदेश फर्किने अनुमान गरिएको छ। त्यसरी फर्किनेहरूले भाडा आफैँ तिर्नुपर्नेछ। उनीहरूलाई क्वारन्टीनमा राखिनेछ।
प्राथमिकतामा को ?
विदेशस्थित दूतावास र उच्चायोगले स्वदेश फर्किन चाहने अलपत्र परेका व्यक्तिको सूची तयार गरिरहेको अधिकारीहरूले जनाएका छन्।
सूची तयार गरिएपछि खराब अवस्थामा रहेका श्रमिक, वृद्धवृद्धा, गर्भवती र बिरामीलाई पहिलो प्राथमिकतामा राखिने बताइएको छ।
गृह मन्त्रालयका अनुसार उड्नुअघि यात्रुको स्वास्थ्य जाँच गरिनेछ र कोरोनाभाइरस सङ्क्रमणको लक्षण नभएकाहरूलाई मात्र उडान अनुमति दिइनेछ।
गन्तव्यमा पुगेपछि फेरि स्वास्थ्य परीक्षण गरेर सम्बन्धित राज्य सरकारद्वारा उनीहरूलाई अस्पताल वा १४ दिन क्वारन्टीनमा राखिनेछ। त्यसपछि पनि भाइरसको परीक्षण गर्ने बताइएको छ।
कुन देशबाट फर्किनेको सङ्ख्या धेरै ?
पञ्जाबका विशेष मुख्य सचिव केबीएस सिद्धूले ‘भारत सरकारको योजना’ ट्वीट गरेका छन्। त्यसअनुसार मे ७ देखि १३ तारिखसम्म १२ वटा देशमा ६४ वटा उडान गरिनेछ र १५,००० जनालाई फिर्ता ल्याइनेछ।
बीबीसीकी दक्षिण एशिया सम्पादक जिल मक्गिभरिङ भन्छिन्, “सयौँ हजार भारतीय विदेशमा फसेका छन्। तीमध्ये मध्यपूर्वका देशहरूमा कार्यरत अदक्ष र आंशिक दक्ष कामदार छन्। लकडाउन खुकुलो पार्ने घोषणासँगै अधिकांशलाई सरकारी विशेष उडान र केहीलाई नौसेनाको पानीजहाजबाट ल्याइनेछ।”
योजनाअनुसार पहिलो चरणमा यूएई, मलेशिया, बाङ्ग्लादेश, सिङ्गापुर, ओमान, कुवेत, साउदी अरब, अमेरिका, बहराइनसहित १२ देशबाट केरला, तमिलनाडु, महाराष्ट्र, दिल्ली, तेलङ्गाना, गुजरात, पञ्जाब, कर्नाटक, उत्तर प्रदेश र जम्मू-कश्मीरमा उडान हुनेछन्।
मालदिभ्सस्थित उच्चायोगका अनुसार त्यहाँबाट नौसेनाको जहाज मे ८ तारिखमा केरलाका निम्ति जानेछ। पहिलो चरणमा त्यहाँबाट ७०० मानिस फर्किन सक्ने बताइएको छ।
Facebook Comment