चिनियाँ नागरिक पर्खाल नाघेर काठमाडौंस्थित जापानी दूतावास घुसेपछि

डिसी नेपाल
२५ वैशाख २०७७ १०:१७

काठमाडौं। काठमाडौंस्थित विदेशी कुटनैतिक नियोगहरुमा कहिले काहीँ अचम्म लाग्दा घटनाहरु घट्छन्। ती अप्रत्यासित पनि हुन्छन् र तीनको अन्त्य पनि उस्तै अपत्यारिलो हुन्छ। अर्थात् त्यसको समाधान पनि फस्ल्याङ फुस्लुङ तरिकाले गरिन्छ। यस्तै एउटा घटना भएको छ नेपालस्थित जापानी राजदूतावास परिसरमा।

घटना अप्रिलको अन्तिम साताको हो। र प्रसंग नेपालस्थित जापानी राजदूतावासको हो। महाराजगञ्ज काठमाडौंमा अवस्थित जापानी राजदूतावासभित्र एकजना मानिस अनौठो तरिकाले प्रबेश गर्यो। त्यो मानिस मूल ढोकाबाट छिरेको थिएन। मूल ढोकामा त जापानी दूतावासबाट तैनाथ तथा नेपाल सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी पनि उभिएकै हुन्छन्।

तर, मानिस छिर्यो मूल सडकको पर्खालबाट त्यो पनि यति छिटो कि बिजुली चम्केसरी। फुत्त पर्खाल नाघेर छिरेको मानिर दौडिँदै दूतावासको मूल भवनतिर जाँदै गर्दा दूतावासका सुरक्षाकर्मीहरुले समाउन सफल भए। मानिस पक्राउ पर्यो तर को हो भनेर छुट्याउन सकिएन। मानिस चिनियाँ नागरिक थियो।

नेपाली र जापानी दुवै भाषा नजान्ने सो व्यक्तिलाई दूतावासको सुरक्षा खटिएका प्रहरीले तत्काल नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा फोन गरी भ्यान मगाए। जापानी दूतावासभित्र छिर्ने सो चिनियाँ नागरिकलाई महाराजगञ्ज बृत्तले नै लगेर केरकार गर्यो।

पक्राउ गरेर एकदिन थुनेपछि प्रहरीले नेपालस्थित चिनियाँ दूतावासलाई खबर गरेको थियो। चिनियाँ दूतावासका काउन्सिलर नै पक्राउ परेका ती चिनियाँ नागरिकलाई भेट्न प्रहरी कार्यालय महाराजगञ्ज पुगेका थिए।

चिनियाँ दूतावासले रिहाइ गरिदिन माग गरेपछि प्रहरीले जापानी दूतावासका प्रतिनिधिलाई पनि बोलाएर यसबारे छलफल गरेको थियो। महाराजगञ्ज प्रहरी परिसरका प्रमुख डिएसपी उमेश लम्सालका अनुसार, दुबै दूतावासका काउन्सिलरहरुलाई राखेर छलफल गरी सहमति गराएर पक्राउ परेका चिनियाँलाई थुनामुक्त गरिएको थियो। डिएसपी लम्साल भन्छन्, ‘पक्राउ व्यक्तिको मानसिक सन्तुलन पनि ठिक थिएन, त्यसैले उपचार गरी चीन फर्काउन चिनियाँ दूतावासको जिम्मा लगाएका हौं।’

ती व्यक्ति को थिए र किन जापानी दूतावासभित्र वायुवेगले छिर्न खोजे भन्ने गहिरो अनुसन्धान भने भएन र विस्तृत विवरण खुल्न सकेन। यस्तो बेला मानसिक सन्तुलन गुमाएका चिनियाँ नेपाल भ्रमणमा कसरी आए भन्ने प्रश्न पनि उठेकै छ किनकि चीनमा कोरोना महामारी फैलिएको धेरै भएको छ र यात्रा प्रतिबन्धका कारण स्वस्थ र अस्वस्थ दुबै व्यक्तिहरु नेपाल आउने सम्भावना निकै कम छ।

के ती व्यक्ति चिनियाँ जासुस थिए? जापान र चीनबीच पुस्तेनी दुश्मनी चल्दै आएको बेला कुनै कुत्सित मनसाय त थिएन ती व्यक्तिको भन्ने आशंका भने यथावत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *