साउदीस्थित दूतावासको आग्रह ‘नेपाल जाने उडानबारे सोध्न फोन नगर्नुस्, आफैं जानकारी गराउँछौं’
रियाद । साउदीको रियादमा रहेको नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई उडान कहिले खुल्छ भनेरमात्र फोन नगर्न आग्रह गरेको छ।
साउदी अरबमा कोरोना संक्रमणको पछिल्लो अवस्था र अन्य जानकारीको बारेमा नियमित अपडेट दिँदै आएको दूतावासले बुधबार अपडेट दिने क्रममा उडान कहिले हुन्छ भन्ने प्रश्न सोध्नका लागिमात्र फोन नर्गन अनुरोध गरेको छ ।
विदेशमा अलपत्र परेका, रोजगारी गुमाएका, करार सकिएका बिरामी परेका लगायतका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनका लागि नेपाल सरकारले गम्भीर रुपमा विभिन्न चरणका गृहकार्यहरु गरिरहेको र नेपाल सरकारले उद्दार उडानहरु सञ्चालनमा ल्याउने सम्बन्धमा गर्ने निर्णयलाई दूतावासले जानकारी गराउने भन्दै उडान कहिले हुन्छ भन्ने प्रश्न सोध्नका लागिमात्र फोन नर्गन अनुरोध गरेको हो ।
नेपाली नागरिकहरुले उद्दार, स्वदेश फिर्ती लगायतका विषयमा टिपाएको विवरण राजदूतावासले कम्प्युटर प्रणालीमा राखी प्राथमिकताका आधारमा वर्गीकरण गर्ने गरेको जनाएको छ। त्यस्तै राजदूतावासमा आफ्नो समस्या टिपाउँदा एकैजना व्यक्तिले राजदूतावासका ३/४ जना सम्म कर्मचारीलाई फोन नगरि एकजना मात्र कर्मचारीलाई फोन गर्न पनि अनुरोध गरेको छ ।
त्यसैगरी पछिल्लो समय साउदीमा आप्रवासी कामदारहरुमा संक्रमणको दर उच्च देखिएकाले व्यापक सावधानी अपनाउन समेत दूतावासले आग्रह गरेको छ।
Facebook Comment