संघीय संसद्को बजेट अधिवेशन आजदेखि, सम्पूर्ण तयारी पूरा

डिसी नेपाल
२६ वैशाख २०७७ ६:५४

काठमाडाैं। संघीय संसद्को बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ।  राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार आज अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ। कोरोना भाइरस(कोभिड–१९) को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ। बिहीबारदेखि संघीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ।

राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार बैठक प्रारम्भ गरिनेछ। राष्ट्रिय सभातर्फ अघिवेशन प्रारम्भ भएको अवसरमा दलीय आधारमा शुभकामना मन्तव्यको सम्भावित कार्यसूची तय गरिएको छ तर प्रतिनिधि सभाको कार्यसूची एकिन भइसकेको छैन ।

अधिवेशन नभएको बेला निधन भएका पूर्व सभासद् प्राडा विश्वनाथप्रसाद अग्रवालको निधनमा शोक प्रस्ताव पारित हुनेछ । यस्तै, सरकारले हालै दुई अध्यादेश जारीपछि साबिकका व्यवस्था पुनः जगाउन जारी गरेको केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिक व्यवस्था जगाउने अध्यादेश २०७७ दुवै सदनमा प्रस्तुत हुनेछ ।

संघीय संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई सबै सदस्यहरुको बसाई व्यबस्थापन, सभाकक्ष, कुर्सी र टेबुल, माइक व्यबस्थापन, सफाई, लगाएतका सबै तयारी पूरा भएको जानकारी गराएको हो।

सभामुख सापकाेटाले बिहीबार अपरान्ह् सभाहलको स्थलगत अवलोकन गरी तयारीबारे जानकारी लिएका थिए।  सभाहलमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार दुरी कायम गरी सीट प्लान गरिएको छ।  हरेक दुुइ सीट खाली गरेर बसाई व्यबस्थापन गरिएको छ।

संयुक्त सदन बस्दा १०० जना हाराहारीको संख्यामा सांसदहरूका लागि माथिल्लो हलमा बस्ने व्यबस्था मिलाइएको छ। प्रतिनिधिसभाको एकल बैठक हुँदा ४० जना हाराहारी सांसद माथि बस्नेछन्।

यसअघि बिहीबार विहान सिंहदरबारस्थित कार्यकक्षमा बसाई व्यबस्थापन लगाएतका विषयमा सभामुखले दलका मूख्य सचेतक, प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए। छलफलमा सहभागी सांसदहरूले सबै सदस्यकाे कोरोनाको परिक्षण गराउनुपर्ने, परिक्षण गराउन नपाएका, नभ्याएकालाई परिक्षण र त्यसको रिपोर्टपछि मात्रै सभाहलमा प्रवेश दिनुपर्ने सुुझाव दिएका थिए।

संसद बैठक अघि कोरोना भाइरस भए नभएको बारे पिसिआर विधिबाट परिक्षण गर्ने कार्यव्यबस्था समितिको निर्णय अनुसार बिहीबार संघीय संसद अन्तरगत ४४१ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। जसमा १७९ जना प्रतिनिधिसभाका सदस्य, ३३ जना राष्टिय सभाका सदस्य गरी २१२ जनाको स्वाब संकलन गरिएको थियाे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *