यौन सम्पर्कबाट कोरोनाभाइरस सर्दैन भन्नु गलत, यौनरोगकै वर्गमा पर्न सक्छ कोरोना

डिसी नेपाल
२६ वैशाख २०७७ ८:५५

काठमाडौं। अहिलेसम्म कोरोनाभाइरस यौन सम्पर्कबाट सर्दैन भन्ने मानिँदै आइएको थियो । तर, चीनका वैज्ञानिकहरुले कोरोनाभाइरस यौन सम्पर्कबाट पनि सर्ने पत्ता लगाएका छन् । खासगरी संक्रमित पुरुषले कसैसँग यौन सम्पर्क गरेमा उसलाई पनि संक्रमण सार्न सक्ने देखिएको छ । अध्ययनमा कोरोना संक्रमित केही पुरुषहश्रको वीर्यमा कोरोनाभाइरस भेटिएको छ । चीनको शांगक्यू म्युनिसिपल हस्पिटलमा भर्ना भएका ३८ जना संक्रमित पुरुषहरुको जाँचमा यस्तो खुलासा भएको हो ।

यी ३८ पुरुषहरुमध्ये ६ जनाको वीर्यमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । संक्रमित यी ६ जनामध्ये केही पहिल्यै कोरोनाभाइरसबाट ठिक भइसकेका थिए तर उनीहरुको वीर्यमा कोरोना संक्रमण भेटिएको छ । यद्यपि चीनका शोधकर्ताहरुले स्पष्ट रुपमा शारीरिक सम्बनधबाट कोरोना संक्रमण सर्छ कि सर्दैन भन्ने खुलासा गरेका छैनन् । जामा स्टडी नेटवर्कमा प्रकाशित शोधपत्रको आधारमा समाचार एजेन्सी रोयटर्सले लेखेअनुसार वैज्ञानिकहरुले यो संख्या धेरै कम भएको भन्दै धेरै जानकारीको लागि अझ ठूलो परिमाणमा अध्ययन हुनुपर्ने बताएका छन् ।

वैज्ञानिकहरुले भविष्यमा कोरोनाभाइरस यौनजन्य संक्रामक रोग अर्थात सेक्सुअल्ली ट्रान्समिटेड डिजिज (एसटिडी)को वर्गमा पर्न सक्ने समेत आशंका जनाएका छन् । बेलायतको शेफिल्ड युनिभर्सिटीमा एन्ड्रोलोजीका प्रोफेसर एलेन पेसीले भने ‘अहिलेसम्म यो अध्ययनले कुनै स्पष्ट प्रमाण दिएको छैन । हामीले यो खोज्नुपर्छ कि कोरोनाभाइरस वीर्यभित्र सक्रिय छ कि छैन ? भाइरस वीर्यभित्र कति समयसम्म सक्रिय रहन्छ ? के यसबाट साँच्चै संक्रमणको खतरा छ ?’

प्रोफेसर एलेनका अनुसार यसअघि इबोला र जीका भाइरस पनि पुरुषको वीर्यमा पाइएका थिए । बेलफास्टको क्विन्स युनिभर्सिटीमा रिप्रोडक्टिभ मेडिसिनकी प्रोफेसर शीना लेविसका अनुसार यो निकै सानो अध्ययन हो । यसमा पूर्ण रुपमा विश्वास गर्न नसकिने भए पनि यसको पुष्टिको लागि ठूलो परिमाणमा अध्ययन गरिनुपर्ने उनले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *