ब्यङ्ग्य कविता – ‘कोदो र तोरी, भाँडा भरि’

डिसी नेपाल
२७ वैशाख २०७७ ७:२०

ब्यङ्ग्य कविता

“कोदो र तोरी भाँडा भरि”

दङ्गै भैयो, मख्खै भैयो देख्दा भाँडा भरि
रै छ आखिर मिस्सिएको कोदो सङ्गै तोरी ।

उस्तै उत्रै भए पनि आखिर हुन् नि भिन्न
एकै ठाँउमा मिस्सिएसी गार्हो हुनी चिन्न ।

नराम्ररी मिस्सिएछ नसकिन्छ चाल्न
न सकिन्छ बेग्लै पारि निफनेर फाल्न ।

झुक्किएर मिस्सियो कि, हो यो जानाजानी
तोरी माथि पोख्खियो कि, हुँदा ताना तानि ?

खोजे कि खै रित्तो भाँडो जसरि नि भर्न
त्यहि भएर तम्सिए कि जसो पनि गर्न ।

कुन अर्थले कुन स्वार्थले मोले होलान् किन
कस्का आँखा छारो हालि कुन चाँहि फाइदा लिन ?

पिस्ने हो कि पेल्ने यस्लाइ गर्ने कसो अब ?
फालौ पनि कसो गरि भा को खेति सब ।

ढुङ्गे कोलले नसकेर यस्तो मिश्रण झेल्न
देशी कोलमा हाल्दा पनि सकिएन पेल्न ।

ल्याच्च पर्यो तोरी जति, कोदो पर्यो पिठो
खसेन नि तेलको धारो झर्यो मात्र लिटो ।

पिना पनि आउँदो रैन्छ तेलको के को आश
कोदो तोरी कुरै छाड्दिउ मिल नि सत्यानाश ।

न त झर्यो तेलको थोपो न त झर्यो पिना
के बनाउन मोले होलान यस्तो अर्थ बिना ।

नआए नि तेलको थोपो मनखत लाउनि फाल्न
बन्छ कि त पिठो भन्दै लग्दा ओइरो हाल्न

ब्यर्थैका ति पाप्रा झरे के को पिठो आउनु
पेल्दा पिस्दा आएन केहि अब कता धाउनु ।

भित्र सबै टाँस्सिएर घुम्नै छाड्यो जाँतो
ठोक्दा ठोक्दै फुट्यो बरु जाँतो पेल्नि हाँतो ।

न त पिठो न त तेल आश भएन अरु
रक्सि सम्म बनथ्यो कि खै मर्चा मोले बरु ।

अर्जुन राज पन्त
(कवि पन्त नेपाली साहित्यको पहिलो ब्यङ्ग्य काब्य कोइलीका समेत लेखक हुन)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *