अमेरिकामा भइरहेछन् कोरोना पार्टी, जानीजानी आफूलाई संक्रमित बनाइरहेछन् मानिसहरु

डिसी नेपाल
२७ वैशाख २०७७ १४:०४

काठमाडौं। कोरोनाभाइरस संक्रमणका केसहरु विश्वमा तीव्र रुपमा फैलिइरहेका छन् । यसको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । शनिबार बिहानसम्म यहाँ कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७७ हजारभन्दा बढी भइसकेको छ । यही बीचमा अमेरिकाका कैयौं शहरहरुमा लकडाउन तोडिएको र सामाजिक दूरी पालना नभएका खबरहरु पनि आएका छन् । पछिल्लो समय अमेरिकी अधिकारीहरुका लागि ‘कोरोना पार्टी’ चिन्ताको विषय बनेको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्टअनुसार वाशिङटन राज्यको वाल्ला वाल्ला काउन्टीका अधिकारीहरुले यहाँ ‘कोरोना पार्टी’का कारण फैलिएका कोरोनाभाइरसका १०० केस भेटिएको जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार पार्टीमा मानिसहरुले जानीजानी संक्रमण फैलाएका थिए । वाशिङटनका हेल्थ सेक्रेटरी जोन भिसम्यानले भने ‘महामारीको बीचमा मानिसहरु जम्मा हुनु खतरनाक हुन्छ । यसबाट मानिसहरु अस्पतालमा भर्ना हुने आशंका बढ्छ र मृत्यु पनि हुन सक्छ ।’

अमेरिकी अधिकारीहरुले एक पटक संक्रमित भएर ठिक भएका मानिसहरु लामो समयसम्म फेरि बिरामी हुँदैनन् भन्ने बारेमा पनि अहिले जानकारी नभएको बताएका छन् । भिसम्यानले भने ‘लामो समयपछि हाम्रो शरीरमा भाइरसको के असर हुन्छ, अहिले यसबारे पनि केही थाहा छैन ।’ गत महिना अमेरिकाको शिकागोमा पनि सामाजिक दूरीको धज्जी उडाउँदै गरिएको एक पार्टीको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । पार्टीको लागि एउटा घरमा सयौं मानिसहरु जम्मा भएका थिए । पार्टीमा सहभागी युवाहरु आफैंले भिडियो अपलोड गरेका थिए ।

कोरोनाभाइरसको नाममा हुने ‘कोरोना पार्टी’मा संक्रमित नभएका मानिसहरु पनि पोजेटिभ मानिसहरुसँग बस्छन् ताकि उनीहरुलाई पनि संक्रमण होस् । हेल्थ सेक्रेटरी जोन भिसम्यान भन्छन् ‘यस किसिमको व्यवहारले केसको संख्या पनि निकै बढ्नेछ र वाशिङटनमा लकडाउन हट्न पनि ढिलाइ हुनेछ ।’ वाल्ला वाल्ला काउन्टीकी कम्युनिटी हेल्थ डाइरेक्टर मेगन डिबोल्टका अनुसार कन्ट्याक्ट ट्रेसिङबाट कैयौं मानिसहरु पार्टीमा संक्रमित हुनको लागि सहभागी भएको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *