हेलिकप्टरबाट सुत्केरीको उद्धार

डिसी नेपाल
२७ वैशाख २०७७ २२:४७

काठमाडौं । अछामकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्जस्थित कोहलपुर मेडिकल अस्पताल भर्ना गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट रामारोशन गाउँपालिका, भटाकाटियाकी २४ वर्षीया देउमा साउदलाई अत्यधिक रक्तश्राव भएपछि उद्धार गरी उक्त अस्पताल भर्ना गरिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलाई अछामका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले खबर गरेलगत्तै महिलालाई निःशुल्क हेलिकप्टरको व्यवस्था गरिएको थियो । ती महिला २५ दिनअघि भटाकाटिया स्वास्थ्यचौकीमा सुत्केरी भएको र पेटको दुखाइ बढेपछि शनिबार बयलपाटा अस्पताल पु¥याइएको थियो ।

उपचारका क्रममा सुत्केरीका पेटमा अत्यधिक रक्तश्राव भएको पाइएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकाले कोहलपुर मेडिकल अस्पतालमा पठाइएको बयलपाटा अस्पतालका स्वास्थ्य निर्देशक डा विकास गौचनले जानकारी दिए । अहिले ती सुत्केरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रजिअ पौडेलले बताए । उनले लकडाउनले मुलुक ठप्प भएका बेला मन्त्री गुरुङको पहलमा ती सुत्केरीको तत्काल हेलिकप्टरमार्फत उद्धार गरी उपचारको व्यवस्था गर्न सकिएको बताए ।

महिला मन्त्रालयले ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ । हालसम्म १०१ गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाले जानकारी दिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *