कोरोनाको लागि बनाएको औषधि आफैंमाथि परीक्षण गर्दा डाक्टरको तत्काल मृत्यु
काठमाडौं। कोरोनाभाइरसको उपचारको खोजी विश्वभर भइरहेको छ । वैज्ञानिकहरु यसको लागि भ्याक्सिन वा औषधीको खोजीमा जुटेका छन् । यही बीचमा भारतका एक डाक्टरले कोरोनाभाइरसको उपचारको लागि आफूले बनाएको औषधीको आफैंमाथि परीक्षण गर्ने क्रममा ज्यान गुमाएका छन् ।
द हिन्दुका अनुसार चेन्नइका ४७ वर्षका यी आयुर्वेदिक डाक्टरको आफूले बनाएको औषधी आफैंमाथि परीक्षण गर्ने क्रममा ज्यान गएको हो । चेन्नइको पेरुगुंडीका के शिवसेनन यहाँको आयुर्वेदिक उत्पादन कम्पनी सुजाता बायोटेकमा फार्मासिस्ट र प्रोडक्सन म्यानेजर थिए । यो कम्पनी खोकीको झोल औषधी (सिरप) उत्पादनको लागि प्रसिद्ध छ ।
विश्वभर कोरोनाको प्रकोप फैलिएपछि कम्पनीका प्रमुख राजकुमार र शिवसेनन मिलेर औषधीको खोजी गरिरहेका थिए । उनीहरुले कोरोनाको लागि एउटा औषधी बनाए र त्यो औषधी आफैंमाथि परीक्षण गर्न थाले । राजकुमारले औषधी थोरै मात्रामा खाए तर शिवसेननले भने धेरै मात्रामा औषधी सेवन गरे ।
औषधीको सेवन गर्नासाथ दुवै बेहोस भए । दुवैलाई नजिकको अस्पताल लगियो । अस्पतालमा राजकुमार त होसमा आए तर शिवसेननको मृत्यु भयो । अहिले राजकुमारको हालत स्थिर रहेको र उनको उपचार भइरहेको बताइएको छ । पुलिसले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comment