राष्ट्रियसभा बैठकः यथार्थमा आधारित बजेट ल्याउन सांसदको माग

डिसी नेपाल
२८ वैशाख २०७७ १६:२७

काठमाडौं । कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको, रोजगारीको अवसर गुमेको तथा वैदेशिक रोजगारीमा गएका समेत घर फर्कने वातावरण नभएकाले समग्र अवस्थालाई ध्यान दिइ आगामी आर्थिक वर्षको बजेट ल्याउन सांसदहरुले माग गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले यथार्थमा आधारित बजेट अहिलेको प्रमुख आवश्यकता भएको बताए । कृषिमा आत्मनिर्भर हुने वातावरण कोरोनाले तयार पारेको भन्दै उनिहरुले साना तथा मझौला उद्योगको प्रवद्र्धन, भौतिक पूर्वाधारको विकास तथा स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखी विपद्सँग जुध्ने कार्यक्रम जरुरी रहेको उनिहरुको भनाइ थियो ।

सांसद परशुराम मेघी गुरुङले बजेट जनताको जीविकासँग जोडिएको कानून र राजनीतिक दस्तावेज पनि भएकाले यसलाई प्रभावकारी कार्यान्वयन हुने गरी विषयवस्तु समेटिनुपर्ने बताए । उहाँले सबै राजनीतिक दलसँग आगामी बजेटमा समटेनिुपर्ने विषयबारे सरकारले लिखितरूपमै धारणा माग्नुपर्नेमा पनि ध्यानाकर्षण गराए । विगतको अभ्यासमा बजेटमा राम्रा कुरा समावेश भए पनि कार्यान्वयन पक्ष फितलो हुने गरेको भन्दै आगामी बजेट महत्वाकाङ्क्षीभन्दा पनि कार्यान्वयनमुखी हुनुपर्ने बताए ।

सांसद रमेशजङ्ग रायमाझीले कोभिड–१९ को महामारीपछिको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने गरी बजेटले प्राथमिकता दिनुपर्ने बताए । पूर्वाधार क्षेत्रलाई विशेष प्राथमिकता दिएर राष्ट्रिय गौरवका आयोजनालाई शीघ्र सम्पन्न गर्नेतर्फ बजेट केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

सांसद दिलकुमारी रावलले बजेटमा कृषि उत्पादनलाई प्रोत्साह गर्दै व्यवस्थित शहरीकरण, भूमि व्यवस्थापन र उपभोगसम्बन्धी विषयलाई समेटिनुपर्ने बताइन् । उनले कोभिडका कारण थलिएको पर्यटन उद्योगलाई प्रवद्र्धन गर्ने, आन्तरिक पर्यटन विकासका कार्यक्रम प्राथमिकतामा राख्न पनि आग्रह गरिन् ।

सांसद कोमल वलीले अर्थतन्त्रलाई जीवन दिन, कृषि उत्पादन, पर्यटन उद्योगको पुनरुत्थान तथा उत्पादनशील क्षेत्रमा रोजगारी सिर्जना गर्ने किसिमका कार्यक्रम बजेट तथा नीति कार्यक्रममा सुुनिश्चित हुनुपर्ने धाणा राखिन् । सांसद शेरबहादुर कुँवरले कोभिडको महामारीबाट कसरी मुलुकलाई मुक्त गरी जनतालाई सुरक्षित तुल्याउने भन्नेतर्फ बजेटमा आवश्यक कार्यक्रम समेटिनुपर्ने बताए । उनले आर्थिकरूपमा कमजोर बनेको मुलुकको पर्यटन क्षेत्रलाई उकास्ने गरी नयाँ कार्यक्रम ल्याउन सुझाए ।

सांसद तारादेवी भट्टले कोभिडका कारण धराशायी अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने र उत्पादन क्षेत्रमा रोजगारी सिर्जना हुनेजस्ता विषयलाई बजेटमा समेट्न ध्यानाकर्षण गराए । सांसद खिमकुमार विकले आगामी बजेटमा स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकामा राख्न तथा कृषि क्षेत्रलाई प्रोत्साहन गर्न आग्रह गरे । सांसद देवेन्द्र दाहालले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बोधन गर्ने गरी बजेट आउनुपर्ने बताए।

सांसद रामनारायण बिडारीले श्रमजीवी वर्ग, किसानको जीवनलाई सुखीमय बनाउने बजेट ल्याउन माग गरे । रोजगारी सिर्जना, कृषिजन्य, दुग्धजन्य तथा मासुजन्य वस्तुको उत्पादन, साना तथा घरेलु उद्योगलाई अनुदान दिने नीति ल्याउन माग गरे । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २९ गते बिहान ११ बजे बस्ने छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *