साउदी राजकुमार फैसललाई पक्राउ गरी डेढ महिनादेखि नजरबन्दमा राखिएको दावी

डिसी नेपाल
२९ वैशाख २०७७ ११:१३

काठमाडौं। साउदी राजकुमार फैसल बिन अब्दुल्लाह अल सउदलाई डेढ महिनादेखि नजरबन्दमा राखिएको एक प्रमुख मानव अधिकार समूहले दावी गरेको छ । साउदीका दिवंगत राजा अब्दुल्लाहका छोरा फैसललाई मार्च महिनाको अन्तिम समयदेखि सम्पर्क प्रतिबन्धित गरी नजरबन्दमा राखिएको बताइएको छ । ह्युमन राइट वाच (एचआरडब्लु)ले शनिबार शाही परिवार निकट स्रोतको हवाला दिँदै सुरक्षा बलले राजकुमारलाई मार्च २७ मा पक्राउ गरेको बताएको छ ।

अल जजीराका अनुसार फैसल राजधानी रियाधको उत्तर पूर्वमा रहेको घरमा सेल्फ आइसोलेसनमा रहेका बेला उनलाई पक्राउ गरिएको थियो । शारी परिवारका प्रमुख सदस्य राजकुमार फैसललाई २०१७ मा पनि रियाधको एउटा सुविधासम्पन्न होटलमा पक्राउ गरी नजरबन्दमा राखिएको थियो । साउदी रेड क्रिसेन्ट सोसाइटीका पूर्व प्रमुख समेत रहेका फैसललाई त्यस वर्षको अन्तिममा रिहा गरिएको थियो ।

एचआरडब्लुको रिपोर्टमा साउदी शाही परिवारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । मार्चको सुरुवातमा राजकुमार मोहम्मद बिन सलमानले शारी परिवारका बरिष्ठ सदस्यहरुबिरुद्ध व्यापक अभियान चलाएका थिए । त्यतिबेला अहिलेका राजा सलमानका भाइ अहमद बिन अब्दुलअजीज र पूर्व क्राउन प्रिन्स मोहम्मद बिन नयिफलाई लक्ष्य बनाइएको थियो । यसलाई राजाका उत्तराधिकारी राजकुमार मोहम्मद बिन सलमानले सत्तामा आफ्नो पकड बलियो बनाउन चालेको कदमको रुपमा अर्थ्याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *