७ देशले कोरोनाभाइरसलाई पूर्ण रुपमा जिते, यो देशले १८७ संक्रमित सबै निको पार्‍यो

डिसी नेपाल
२९ वैशाख २०७७ १४:५९

काठमाडौं। कोरोनाभाइरसले पूरै विश्वलाई आक्रान्त बनाएको छ । यद्यपि केही क्षेत्रहरु यस्ता छन् जसले यो भाइरसलाई पूर्ण रुपमा जितेका छन् । उनीहरुले यो भाइरस संक्रमण भएर पनि अहिलेसम्ममा सबै संक्रमितलाई निको पारेर एक्टिभ केस शून्यमा झरेका छन् । यस्ता ७ क्षेत्र छन् जसले यो भाइरस पूर्ण रुपमा शून्यमा झारेका छन् ।

अहिलेसम्म शून्य एक्टिभ केसमा झार्नेमध्ये सबैभन्दा धेरै संक्रमित संख्या भएको क्षेत्र फारो आइल्याण्ड हो । यहाँ १८७ जना संक्रमित भेटिएका थिए । अहिलेसम्म ती सबै निको भएर यहाँको संक्रमण शून्यमा झरेको छ । यहाँ एक जनाको पनि कोरोनाभाइरसका कारण मृत्यु भएको छैन । यो टापु डेनमार्कको हिस्सा हो । यद्यपि यो स्वशासित छ ।

१८ जना संक्रमित भेटिएको न्यू क्यालेडोनियाले पनि शून्य मृत्युसहित एक्टिभ केस पनि शून्यमा झारेको छ । अस्ट्रेलिया नजिक प्रशान्त महासागरमा रहेको यो क्षेत्र फ्रान्सको अधिनमा छ । १३ जना संक्रमित भेटिएको फाल्कल्याण्ड आइल्याण्डमा पनि एक्टिभ केस शून्य भएको छ । बेलायतको अधिनमा रहेको यो टापु एटलान्टिक महासागरमा दक्षिण अमेरिकाको तल्लो छेउनजिकै अर्जेन्टिना नजिकै छ ।

११ जना संक्रमित भएको ग्रिनल्याण्डमा पनि संक्रमण शून्य छ । अस्ट्रेलिया नजिकै रहेको देश पपुआ न्यू गिनीमा पनि ८ जना संक्रमित भेटिएका थिए तर अहिले ती सबै निको भइसकेका छन् र एक्टिभ संक्रमितको संख्या शून्य छ । ६ जना संक्रमित भएको सेन्ट बर्थमा पनि सबै संक्रमित निको भइसकेका छन् । यो देश क्यारेबियन क्षेत्रमा छ । बेलायतको अधिनमा रहेको क्यारेबियन क्षेत्र अंगुइलामा पनि एक्टिभ केस शून्य भएको छ । यहाँ ३ जना संक्रमित भेटिएका थिए ।

यसबाहेक संक्रमितको संख्या अत्यन्तै न्यून राख्ने वा भएका संक्रमितमध्ये धेरै निको पारेर एक्टिभ केस धेरै तल राख्ने केही क्षेत्रहरु छन् । क्यानडाको छेउमा रहेको फ्रान्सको टापु सेन्ट पिएरे मिकेलनमा केवल १ जना संक्रमित भएका छन् । पश्चिमी साहारामा ६ जना संक्रमितमध्ये ५ जना निको भइसकेका छन् र एक्टिभ केस एउटा मात्र छ । क्यारेबियन नेदरल्याण्डमा केवल ६ जना संक्रमित भएका छन् । यद्यपि यी सबै अहिलेसम्म एक्टिभ केस नै छन् । ब्रिटिश भर्जिन आइल्याण्डमा केवल २ एक्टिभ केस छन् । सिचेल्स, सेन्ट किट्स एण्ड नेभिस, डोमिनिका, कुराकाओ, सेन्ट लुसिया, ट्रिनिडाड एण्ड टोबागोमा एउटा मात्र एक्टिभ केस छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *