ताइवानले कोरोनाभाइरसलाई जित्यो, यो अनौठो हतियारले गर्यो काम
काठमाडौं। कोरोनाभाइरससँग पूरै विश्व जुधिरहेको छ । सबै देशहरुले यो भाइरसबाट बच्न फरक फरक तरिकाले काम गरिरहेका छन् । तर, विश्वमा यस्ता देश निकै कम छन् जसले ठूलो जोखिमको बीचमा रहेर पनि सफलतापूर्वक कोरोनाभाइरसलाई जिते र अहिले ती देशहरुको प्रशंशा भइरहेको छ । यिनै देशहरुमध्ये एक हो ताइवान ।
ताइवानमा ४४० जना संक्रमित भए, ७ जनाको मात्र ज्यान गयो, ३६८ जना निको भए र अहिले एक्टिभ केस ६५ मात्र छन् । यी ६५ एक्टिभ केसमा एउटा पनि गम्भीर छैनन् त्यसैले यहाँ थप मृत्यु हुने सम्भावना न्यून छ । सम्भवतः उनीहरु केही दिनमै निको भएर घर फर्किनेछन् ।
ताइवान चीनको नजिकै छ । ताइवान र चीनबीच धेरै उडानहरुको आवतजावत हुन्छ । ताइवानमा चीनको सबैभन्दा धेरै भाइरस प्रभावित क्षेत्र वुहानबाट पनि दिनहुँ कैयौं उडान हुन्छन् जसका कारण ताइवान संक्रमणको निकै ठूलो जोखिममा थियो । तर, आफ्नो फरक किसिमको प्रयासले ताइवानले धेरै हदसम्म भाइरसलाई रोकिदिएको छ । यसको प्रमुख कारण यो पनि हो कि ताइवानले धेरै पहिले सावधानी अपनाउन सुरु गरेको थियो ।
ताइवानले धेरै पहिलेदेखि नै विदेशबाट आउनेहरुलाई १४ दिनसम्म घरमै बस्न अनिवार्य गरेको थियो । यति हुँदाहुँदै पनि ताइवानले कोरोनाभाइरसलाई जित्नुको पछाडि एउटा खास हतियार छ । ताइवानसँग भएको यो विशेष हतियार सम्भवतः अरु देशहरुसँग छैन । ताइवानको त्यो हतियार हुन् देशका उपराष्ट्रपति चेन चिएन जेन । उपराष्ट्रपति जेन राजनैतिक व्यक्ति नभइ वैज्ञानिक हुन् । उनी महामारीकै विशेषज्ञ हुन् ।
उपराष्ट्रपति जेनले अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीबाट महामारीका विषयमा थप प्रशिक्षण समेत लिएका छन् । उनी भाइरसका पनि विशेषज्ञ हुन् । सबैभन्दा रोचक त के भने उपराष्ट्रपति पदमा भएर पनि उनले ताइवानको सत्ताधारी राजनैतिक पार्टीको सदस्यता समेत लिएका छैनन् । उपराष्ट्रपति जेन आफैं देशमा फैलिरहेको महामारीका विषयमा नियमित निगरानी गर्छन् र महामारी नियन्त्रण अभियान उनकै नेतृत्वमा चलिरहेको छ ।
अहिले उपराष्ट्रपति जेनले भ्याक्सिन र टेस्टिङ किट तयार गर्ने विषयमा जोड दिइरहेका छन् । अर्कोतर्फ जेनले आफ्नो राजनैतिक पदको हैसियतमा भाइरस रेस्पोन्सका विषयमा चीनको आलोचना समेत गरेका छन् । ताइवानले चीनमाथि सुरुवाती चरणमा भाइरसका विषयमा जानकारी लुकाएको आरोप लगाइसकेको छ ।
न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार विश्वका कैयौं देशका शासकहरुले कोरोनाभाइरसका बारेमा अनौठा दावी गरिरहेका बेला ताइवानका उपराष्ट्रपतिले भने विज्ञानका तथ्यका आधारमा देश चलाइरहेका छन् । मेडिकल वैज्ञानिकहरु समेत उपराष्ट्रपति जेनको सल्लाह मागिरहन्छन् । डाक्टरहरु पनि जेनको ल्लाह लिएर उपचार गरिरहेका छन् ।
सन् २००३ मा सार्स भाइरसको महामारी फैलिएका बेला जेन ताइवानका शीर्ष स्वास्थ्य अधिकारी थिए । १७ वर्षअघि सार्स महामारीकै बेलादेखि उनले देशलाईमहामारीसँग जुध्नको लागि तयार पार्न थालेका थिए । त्यतिबेलैदेखि देशमा आइसोलेसन वार्ड र भाइरस अनुसन्धान प्रयोगशालाको स्थापना भएको थियो । विश्वका नेताहरुले भाइरसका बारेमा बिना प्रमाण विभिन्न दावी गरिरहेका बेला जेनले एक अन्तरवार्तामा भनेका थिए ‘राजनीति गर्नुभन्दा धेरै जरुरी प्रमाण हुन्छ ।’
६८ वर्षका उपराष्ट्रपति जेन २०१६ देखि पदमा छन् । अहिले उनको कार्यकालका केही दिन मात्र बाँकी छन् । यही मे २० तारिक अर्थात ९ दिनपछि उनको कार्यकाल समाप्त हुँदैछ । रोचक त के भने ताइवानमा अहिले भएका एक्टिभ संक्रमित ६५ जना कुनै पनि गम्भीर नभएकोले उनको कार्यकाल सकिँदासम्म उनीहरु निको भइसक्ने सम्भावना छ ।
यदि यस्तो भएमा उनले देशलाई कोरोनामुक्त ‘ग्रिन जोन’ बनाएर पद छाड्नेछन् । पद छाडेपछि पनि उनको कामबाट देशले लाभ भने पाइरहनेछ । जेनले कार्यकाल पूरा गरी पद छाडेपछि आफू एकेडेमिक्समै फर्किने र कोरोनाभाइरसकै विषयमा केन्द्रित रहेर आफ्नो अनुसन्धानको कामलाई जारी राख्ने बताइसकेका छन् ।
Facebook Comment