कोरोनाभाइरसः अमेरिकामा डेढ लाखभन्दा धेरैको मृत्यु भइसकेको अमेरिकाकै विशेषज्ञको दावी
काठमाडौं। अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको वास्तविक संख्या अहिले बताइएको संख्याको दोब्बर हुन सक्ने अमेरिकाकै विशेषज्ञले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ टेक्सासमा सोसियोलोजीका प्रोफेसर मार्क हेयवार्डले अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)लाई मृत्युदरका विषयमा सल्लाह दिँदै मृत्यु भएकाहरुको आधिकारिक संख्याको विषयमा प्रश्न उठाएका हुन् ।
प्रोफेसर मार्कले बेलायती मिडिया द इन्डिपेन्डेन्टलाई दिएको एक अन्तरवार्तामा भनेका छन् ‘सम्भवतः अमेरिकामा कोरोनाभाइरसका कारण अहिले बताइएको भन्दा दोब्बरको मृत्यु भइसकेको हुन सक्छ ।’ उनले कोरोनाभाइरसका कारण मृत्यु हुनेको वास्तविक संख्या जारी गरिएको संख्याको दोब्बर हुन सक्ने बताए । अहिलेसम्म अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको आधिकारिक संख्या ८० हजारभन्दा धेरै भइसकेको छ । प्रोफेसर मार्कको कुरा मान्ने हो भने मृत्यु हुनेको वास्तविक संख्याले १ लाख ६० हजार नाघ्नेछ ।
प्रोफेसर मार्कले कोरोनाभाइरसबाट मृत्यु हुनेको वास्तविक संख्या पत्ता लगाउनु निकै कठिन काम भएको बताए । उनले कोरोना संक्रमण पुष्टि हुने विषयमा पनि ढिलाइ भएको बताए । उनका अनुसार जो सबुत भेटिएका छन् त्यसबाट गम्भीर रुपले बिरामी कैयौं मानिसहरु उपचार पाउनबाट बञ्चित रहेको देखिने बताए । वास्तविक संख्या आउन ढिलाइ भइरहेकोले पनि मृत्युको वास्तविक तथ्यांक आउन नसकेको उनले बताए ।
Facebook Comment