जर्मनीमा कोरोनाका कारण लगाईएको प्रतिबन्ध विरुद्ध हजारौंको प्रदर्शन
जर्मनी । कोरोनाका कारण जारी प्रतिवन्धका विरुद्ध जर्मनीमा प्रदर्शन चर्किएको छ । आधुनिक समाजमा प्रतिबन्धहरु लोकतन्त्र विरोधी भएको भन्दै आन्दोलनकारीहरु सडकमा नियमको अवज्ञा गर्दै उत्रेका छन् । गएको हप्ता म्युनिख, बर्लिन, स्टुटगार्ट, फ्रेंकफर्टमा प्रतिबन्ध मौलिक अधिकार विरुद्ध भएको भन्दै प्रदर्शन चर्किएपछि अहिले जर्मनीमा आन्दोलनकारीहरु नयाँ समस्याका रुपमा देखा परेका छन् । कोरोना विरुद्ध लड्नको लागि प्रतिवन्धको सट्टा दोश्रो विकल्प प्रयोग गर्नुपर्ने प्रदर्शनकारीहरुले माग गरेका छन् ।
बर्लिनको एलेक्जेन्डर प्लाज्टमा प्रदर्शनकारीहरुले बोतल प्रहार गरेपछि स्थिती असामान्य बनेको थियो । एक सुरक्षाकर्मी घाइते भएसँगै प्रहरीले करिब एक सय जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । यस्तै अर्को शहर डर्टमुन्डमा प्रदर्शनकारीहरुले मिडियाकर्मी माथी पनि प्रहार गरेका छन । यसअघि गत मे १ मा बर्लिनमा पनि आधा दर्जन मिडियाकर्मी माथी आक्रमण भएको थियो ।
आन्दोलनकारीहरुले राजनीतिक नेताहरूको आलोचना गर्दै प्रजातान्त्रिक विरोधी प्रवृत्ति र कोरोना एक षडयन्त्र भएको भन्दै नियम नमान्ने चेतावनी दिएका हुन् । कोरोना नक्कली हो भन्ने ब्यानरहरु बोकेर प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरु दिनानुदिन बढ्दै गइरहेका छन् । राजनीतिककर्मीहरुले भने यो एक प्रकारको अराजकता भएकोले आन्दोलनकारीहरुले चरमपन्थीहरु प्रति झुकाव राखेर समाजलाई अस्थिर बनाउने पक्षमा लागेकोले कारवाहीको चेतावनी दिएका छन् ।
सोसल डेमोक्रेटिक पार्टिले मानिसहरुमा भाइरसले ल्याएको अनिश्चितता जारी रहदाँ कट्टरपन्थी शक्तिहरु लोकतन्त्र विरुद्ध उत्रेर समाजमा भाँडभैलो मच्चाउन उद्धत रहेकोले बेलैमा यो आन्दोलनलाई निस्तेज गर्नुपर्नेमा जोड दिएको छ । पार्टिका महासचिव पउल चिमियाकले कारोना भाइरसको निहुँमा चरमपन्थी शक्तिहरुलाई लोकतान्त्रीक विरोधी गतिविधीमा छुट छैन भन्दै कारवाही गरीने चेतावनी दिएका छन ।
विना सामाजिक दुरी, विना मास्क, विना सुरक्षात्मक विधि हजारौंको संख्यामा आन्दोलनकारीहरु प्रदर्शनमा उत्रिएका छन् । सरकारले भने मानव स्वाथ्यमा कुनै पनि समस्या बढ्न नदिन र स्वास्थ्य प्रणालीलाई चुस्त राख्न कुनै कदम बाँकी नराख्ने जनाएको छ । चान्सलर एंगेला मर्केलले कोरोनाको फैलावटलाई रोक्न झन सुरक्षित हुन आवश्यक रहेको र जारी प्रतिवन्धहरु लम्ब्याउनुपर्ने बताएकी छिन् ।
जर्मनीमा बजार पसलहरु खुलेपनि सुरक्षात्मक विधि अवलम्बन गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने, ठुला जमघटहरु मथिको प्रतिबन्ध जारी रहने उल्लेख छ ।
गत हप्ताबाट बजार पसलहरु खुलेपछि जर्मनीमा फेरी कोरोना संक्रमणको प्राविधीक ग्राफ बढ्दै गएकोमा बैज्ञानिकहरुले चिन्ता ब्यक्त गरेका छन् । रिप्रोडक्टिभ नम्बर ०.६५ बाट बढेर १.१ मा आइपुगेको छ । यो भनेको गत हप्तासम्म एक ब्यक्तिले ०.६५ जनालाई कोरोना सार्न सक्ने सम्भावना थियो भने अहिले बढेर १ ब्यक्तिले १.१ जनालाई सार्न सक्ने डाटा सार्वजनिक भएको छ ।
Facebook Comment