कोरोनाभाइरस चमेराबाट सिधै मानिसमा आएको होइन, चीनको अनुसन्धानमा नयाँ खुलासा
वुहान। कोरोनाभाइरस कहाँबाट आयो ? भन्ने विषय अहिले ठूलो खोजीको विषय बनेको छ । अमेरिका, बेलायतसहितका पश्चिमा देशहरुले चीनले प्रयोगशालामा भाइरस बनाएको आरोप लगाइरहँदा चीनमाथि यसको स्रोत खोज्न दबाब बढेको छ । विभिन्न संस्थानहरुले कोरोनाभाइरसको स्रोतबारे अनुसन्धान गरिरहेका छन् र अहिलेसम्म प्राप्त सबै जानकारीहरुले यसको स्रोत चमेरा र पेंगोलिन भएको देखाएका छन् ।
अहिलेसम्म प्राप्त प्रमाणहरुले धेरै हदसम्म यो सिद्ध हुन्छ कि चमेराबाट निस्केको कोरोनाको मूल भाइरसले केही शक्ति पेंगोलिनबाट लियो र नयाँ रुपमा विकसित भएर सार्स सिओधी २ भाइरस बनेर मानिसमा फैलियो । कैयौं महिनादेखि चलिरहेको अनुसन्धानपछि चीनका दुई प्रमुख वैज्ञानिक कांगपेंग झियाओ र जुन्कियोंग झाइ यो निष्कर्षमा पुगेका छन् कि कोभिड १९ महामारीको सार्स सीओभी २ भाइरस विकसित हुनुमा चमेरा र पेंगोलिन दुवैको भूमिका छ ।
नेचर जर्नलमा छापिएको रिपोर्टका अनुसार यी वैज्ञानिकले पाएका प्रमाणहरुले यही इशारा गरिरहेका छन् कि मानिससम्म कोरोनाभाइरस पुग्नुमा पेंगोलिन ‘मिडिएटर होस्ट’ अर्थात बीचको कडी हुन सक्छ । विश्व स्वास्थ्य संगठनले पनि केही दिनअघि चमेराको भूमिकालाई शंकास्पद बताएको थियो । भारतका ब्याटम्यान भनेर चिनिने वन्यजीव वैज्ञानिक रोहित चक्रवर्तीले पनि कोरोनाको उत्तपत्तिसम्बन्धी अनुसन्धानमा छुटेका कडीलाई चमेरा र पेंगोलिनले जोड्न सक्ने मान्छन् ।
साउथ चाइना एग्रीकल्चर युनिभर्सिटीको कलेज अफ भेटेरीनरी मेडिसिनका शोधकर्ताहरुले रिसर्च पेपरमा पहिलो पटक आफ्नो दावीको पक्षमा ठोस प्रमाण दिएका छन् । वैज्ञानिकहरुले मलयन प्रजातिको पेंगोलिन र ४ विशेष जीनहरुमा केन्द्रित रहेर निष्कर्ष निकालेका छन् । उनीहरुले पेंगोलिनमा जुन कोरोनाभाइरस (पेंगोलिन–सीओभी) पाएका छन् त्यसको अमिनो एसिड मानिसमा फैलिएको कोरोनाभाइरसको जेनेटिक मटेरियल अर्थात आरएनएसँग १०० प्रतिशत, ९८.६ प्रतिशत, ९७.८ प्रतिशत र ९०.७ प्रतिशत समान छ ।
मलयन पेंगोलिनमा पाइएको भाइरसमा कोशिकाहरुमा आक्रमण गरेर तिनीहरुलाई समाउने स्पाइक प्रोटिन पाइएको छ । यो स्पाइक प्रोटिन ठिक त्यस्तै जसको प्रयोग कोरोनाभाइरसले मानिसका कोशिकामा आक्रमण गर्न प्रयोग गरिरहेको छ । यसलाई विज्ञानको भाषामा रिसेप्टर बाइण्डिङ डोमेन भनिन्छ ।
भाइरसका कडीहरुलाई जोड्ने क्रममा जीवहरुको जीनोम सिक्वेन्सिङ अर्थात जेनेटिक मटेरियललाई क्रमबद्ध रुपमा राखेर त्यसको तुलना गर्नु सबैभन्दा अहम प्रक्रिया हो । यो नयाँ अध्ययनमा यही प्रक्रियाको प्रयोग गरेर वैज्ञानिकहरु यो नतिजामा पुगेका छन् कि पेंगोलिन सीओभीको संरचना मानिसमा फैलिएको नयाँ सार्स सीओभी २ र चमेराको सार्स सीओभीआरएटिजी १३ नामको भाइरसको संरचनासँग समान छ ।
अहिलेसम्म यही मानिएको थियो कि चमेराको यही सार्स सीओभीआरएटीजी १३ बाट नै नयाँ कोरोनाभाइरस सार्स सीओभी २ विकसित भएको मानिएको थियो । केवल एउटा अन्तर पाइएको छ जो स्पाइक वा एस जीनको फरक हो । वैज्ञानिकहरुले दुई दिन पहिले जब यही अन्तरमा अध्ययनलाई केन्द्रित गरे त्यसपछि खुलासा भयो कि कहीँ न कहीँ यो भाइरस अर्को जनावरको शरीरमा पुग्यो, त्यहाँ आफूलाई बदलेर नयाँ रुपमा उत्पन्न भयो । यसरी भाइरस चमेराबाट पेंगोलिनमा पुग्यो, पेंगोलिनको शरीरमा आफूलाई बदल्यो र मानिसमा आयो ।
भाइरसको स्रोत खोज्नको लागि चिनियाँ वैज्ञानिकहरुले यो अध्ययन गतवर्षदेखि नै गरिरहेका छन् । यसको बारेमा केही जानकारी फेब्रुअरीमा सार्वजनिक भएको थियो । वैज्ञानिकको टिमले यो अध्ययन एक वन्यजन्तु उद्धार केन्द्रमा ४ चिनियाँ पेंगोलिन र २५ मलयन पेंगोलिनमा गरेका थिए । यसमा उनीहरुको फोक्सोमा तन्तुहरु निकालेर त्यसमा भाइरस भए नभएको पत्ता लगाइएको थियो ।
यो अध्ययनमा २५ मलयन पेंगोलिनमध्ये १७ को आरएनए सार्स सीओभी २ जस्तै भाइरस पोजेटिभ पाइएका थिए र उनीहरुमा विस्तारै कोरोना संक्रमण जस्तै लक्षणहर पनि देखिन थाले । यी जनावरहरुलाई सास फेर्न समस्या हुन थाल्यो र विस्तारै उनीहरु शिथिल भएर रुन कराउन थाले । पछि १७ मध्ये १४ पेंगोलिन मरे ।
मलयन वा सुंडा पेंगोलिन निकै लजालु जीव र दुर्लभ प्रजाति हो । पूरै दक्षिण एसियामा पाइने यो पेंगोलिन केवल ५ किलोको हुन्छ । यसको स्केलका कारण यो शिकारी र तस्करहरुको निशानामा रहन्छ । पोथीले आफ्नो बच्चालाई पुच्छरमा लिएर घुम्छ । कमिला, धमिरा र किरा खाने यो जनावरका आँखा निकै कमजोर तर सुँघ्ने शक्ति धेरै हुन्छ ।
वैज्ञानिकहरुका अनुसार पेंगोलिन र चमेरो दुवै निशाचर जनावर हुन् । दुवैले किरा खान्छन् र विश्वभर लगभग जताततै फैलिएका छन् । त्यसैले यी दुई जनावरको साझेदारी सार्स परिवारका कोरोनाभाइरसको लागि आदर्श वाहक हो र प्राप्त प्रमाणले पनि यही संकेत गरिरहेका छन् ।
अध्ययनमा वैज्ञानिकहरुले घटनाक्रमलाई पनि प्रस्ट पार्दै लेखेका छन् – आम रुपमा रोगको प्राकृतिक वाहकमा रोगका गम्भीर लक्षण देखिँदेनन् तर उसबाट रोग कुनै इन्टरमिडिएट होस्ट जनावरमा गयो भने त्यसले संक्रमणको क्लिनिकल लक्षण देखाउँछ ।
यही कारण वैज्ञानिकहरुले आफ्नो रिसर्चमा जोड दिँदै लेखेका छन् – पेंगोलिन विश्वमा सबैभन्दा धेरै तस्करी गरिने जनावर हो । हरेक देशका तसकरको यो पहिलो रोजाइ हो र यही कुरा विश्वका मानिसहरुको लागि खतरा पनि हो किनकि यो स्तनधारी किरा खाने जनावर सार्स सीओभी २ जस्ता भाइरसको पनि वाहक हो । यस्तोमा यदि यसको तस्करी र व्यापार रोकिएन भने भविष्यमा पनि कोरोनाभाइर विश्वमा फैलिइरहनेछ ।
रिसर्च पेपरमा विश्वभरका सरकारहरुसँग पेंगोलिनमाथि व्यवस्थित ढंगले लामो समयसम्म निगरानी गरेर यो जनावरको अवैध शिकार, तस्करी र व्यापारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ । यसको मासु खान त पूर्ण प्रतिबन्ध लगाउन सिफारिस गरिएको छ ।
Facebook Comment