कोरोनाभाइरसः आँखा समेत असुरक्षित !

डिसी नेपाल
३० वैशाख २०७७ ११:३७

काठमाडौं। कोरोनाभाइरस आँखाबाट सजिलै शरीरमा प्रवेश गर्न सक्छ र आँसुबाट सजिलै संक्रमण फैलिन सक्छ । अमेरिकाको प्रतिष्ठित जोन्स हप्किन्स विश्वविद्यालयका शोधकताृहरुले यस्तो खुलासा गरेका हुन् । शोधकर्ताहरुका अनुसार एसीइ २ नामको इन्जाइम रिसेप्टरको सहयोगमा कोरोनाभाइरस शरीरका कोशिकामा टाँसिएर मानिसको आँखाबाट पनि प्रवेश गर्न सक्छ ।

नयाँ अनुसन्धानको नतिजामा फोक्सो, श्वासन मार्ग र अन्य अंगहरुजस्तै आँखाहरुमा पनि एसीइ २ रिसेप्टरको निर्माण हुने खुलासा भएको छ । यिनै रिसेप्टरको सहयोगमा कोरोनाको सार्स सीओभी २ शरीरभित्र पुग्न सक्छ । यदि संक्रमित बिरामीको थुकका ड्रपलेट आँखासम्म पुगे भने संक्रमण सर्न सक्छ ।

रिसर्च रिपोर्टका आधारमा डेली मिररले लेखेको समाचार अनुसार कोभिड १९ आँखाको प्रचलित रोग कन्जेंक्टिभाइटिसको कारण पनि बन्न सक्छ । ३० प्रतिशत बिरामीहरुमा यस्ता लक्षण पाइएका छन् । उनीहरुका आँखा सुन्निएको र रातो भएको पाइएको छ । कोरोनाभाइरस श्वासन मार्गबाट पनि आँखासम्म पुग्न सक्छ र यस्तो स्थितिमा बिरामीलाई झनै गम्भीर बनाउँछ ।

शोधकर्ताहरुका अनुसार मधुमेह र उच्च रक्तचापका बिरामीहरुमा एसीइ २ रिसेप्टर स्वस्थ मानिसहरुको तुलनामा धेरै उत्पादन हुन्छ । त्यसैले उनीहरुलाई संक्रमणको खतरा पनि धेरै हुन्छ । रिसर्चको क्रममा यस्ता प्रमाण पनि फेला परेका छन् कि धुम्रपान गर्नेहरुमा पनि एसीइ रिसेप्टर धेरै उत्पादन हुन्छ ।

शोधकर्ताहरुका अनुसार कोरोना आँखाको बाटो भएर शरीरभित्र पुग्न सक्छ । यतिमात्र होइन आँखाकै माध्यमबाट फैलिन पनि सक्छ । आँसुको माध्यमबाट संक्रमण फैलिन सक्ने उनीहरुले बताएका छन् । एसीइ २ रिसेप्टर एक किसिमको गेट वे हो जसको माध्यमबाट भाइरस फैलिन सक्छ । यो रिसेप्टर आँखाको कर्नियामा पाइन्छ । रिसर्च टिमका प्रमुख शोधकर्ता लिंगली झाउका अनुसार जति धेरै यो रिसेप्टर बन्छ संक्रमणको खतरा उत्तिकै बढी हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *