इरानले झुक्किएर आफ्नै जहाजमा मिसाइल हान्यो, १९ जनाको मृत्यु

डिसी नेपाल
३० वैशाख २०७७ १३:०६

काठमाडौं। सैन्य अभ्यासका क्रममा इरानले हानेको एउटा मिसाइल आफ्नै जहाजमा लाग्दा १९ जनाको ज्यान गएको छ । इरानको एउटा युद्धपोतबाट मिसाइल प्रहार भएको थियो । त्यो मिसाइल अर्को युद्धपोतमा गएर लागेको हो । गल्फ अफ ओमानमा भइरहेको सैन्य अभ्यासमा भूलवश भएको यो दुर्घटनामा अन्य १५ जना सैनिक घाइते भएको अल जजीराले लेखेको छ

खाडी क्षेत्रका मुलुकबाट तेल निर्यातका लागि निकै संवेदनशील सामुद्रिक मार्गका रुपमा रहेको ओमानी जलक्षेत्र हुँदै जहाजहरु स्ट्रेट अफ हर्मुजतर्फ ओहोरदोहोर गर्दछन्। स्ट्रेट अफ हर्मुज र ओमानी जलक्षेत्रमा इरानले नियमित रुपमा सैन्य अभ्यास गर्ने गरेको छ।

सैनिक स्रोतलाई उद्धृत गर्दै इरानी संचार माध्यममा प्रसारण भएअनुसार कोनाराक नामको लडाकू युद्धपोत समुद्रमा डुबेको भने छैन । इरानी जलसेनाले उक्त दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । नेदरल्यान्डमा निर्मित कोनाराक युद्धपोत सन् १९७९ को इस्लामिक क्रान्तिअघि इरानले खरिद गरेको थियो।

यो जहाजलाई सन् २०१८ मा मर्मत गरी यसमा चारवटा क्रुज क्षेप्यास्त्र जडान गरिएको छ। यो दुर्घटना इरान र संयुक्तराज्य अमेरिकाबीच जारी तनाबकै बीचमा भएको छ। सन् २०१८ देखि नै दुबै मुलुकबीच तनाबकै स्थिति रहे पनि गत जनवरीको सुरूमा वरिष्ठ इरानी सैनिक जनरल कासिम सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा मारिए पछि तनाब अझ बढेको छ।

अमेरिकी कारबाहीको प्रतिशोधमा इरानले पनि जनवरी ९ मा इराकस्थित अमेरिकी अखडाहरुमा क्षेप्यास्त्र प्रहार गरेको थियो। त्यही दिन इरानी सैनिकले प्रहार गरेको क्षेप्यास्त्रबाट युक्रेनी यात्रुबाहक विमान इरानमा खसेको थियो जसका कारण विमानमा यात्रारत १ सय ७६ जनाको निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *