प्रभावका आधारमा मात्र सहूलियत दिन बैंकर्सको सुझाव

डिसी नेपाल
३० वैशाख २०७७ १५:३२

काठमाडौं। कोरोना भाइरसबाट प्रभावित व्यवसायीलाई क्षतिको आधारमा मात्र राहत दिन बैंकर्सहरुले सुझाव दिएका छन्। मंगलबार अर्थ समितिको बैठकमा बोल्दै उनीहरुले सबैलाई एकै डालोमा राखेर निर्णय गर्दा राहत प्रभावकारी नहुने बताए।

बैठकमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बढी प्रभावित भएका, कम प्रभावित भएका र प्रभाव नपरेका उद्योगहरुलाई छुट्याएर राहतबारे निर्णय गर्न सुझाव दिए। “कोरोनाका कारण सबै व्यवसायमा उस्तै प्रभाव परेको छैन” उनले भने, “त्यसैले क्षतिको मूल्यांकन गरेर मात्र राहतबारे निर्णय गर्नुपर्छ।” नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट दिने निर्देशनले सबैलाई न्याय नभएको उनले उल्लेख गरे।

अध्यक्ष दाहालले अर्थतन्त्र उकास्नका लागि सरकार खर्च गर्न डराउन नहुने भन्दै सरकारसँग भएको विदेशी मुद्रा संचितीबाट केही रकम प्रवाह गर्नुपर्ने बताए । “अहिले हामीसँग १० महिनाको बस्तु आयात धान्ने विदेशी मुद्रा संचिती छ” उनले भने, “६ महिना धान्ने रकम राखेर ३–४ अर्व डलर खर्च गर्न सकिन्छ।”

कोरोनाबाट प्रभावित क्षेत्रलाई सहयोग गर्न बैैंकहरु तयार भएको भन्दै उनले साना तथा मझौला उद्योगमा लगानी गर्दा एक करोड भन्दा बढिको ऋण आधार व्याजदरमै उपलब्ध गराउन तयार रहेको बताए।

अध्यक्ष दाहालले कोरोनाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने अवसर समेत सिर्जना भएको भन्दै त्यसका लागि काम गर्न आग्रह गरे। कोरोनाका कारण विदेशमा जागीर गुमाएर फर्किने युवाहरुलाई परिचालन गर्न देश विकासमा फड्को मार्न सकिने उनको जिकीर थियो।

उनले कृषिमन्त्रीको संयोजनमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, बैंकर्स संघ, सहकारी सम्मिलीत एउटा संयन्त्र बनाउन प्रस्ताव गरिएको र यसमार्फत कृषिमा केहि गर्न सकिने उल्लेख गरे।

बैंकर्स संघका पूर्व अध्यक्ष अनिलकेशरी शाहले ऋणीलाई राहत दिदा बचतकर्तालाई मर्कामा पार्न नहुने बताए। बैंकमा ऋणीको संख्या लाखौमा र बचतकर्ताको संख्या करोडौंमा रहेको भन्दै समस्यामा परेका ऋणीलाई राहत दिनुपर्ने उनको भनाइ थियो।  नविल बैंकका अध्यक्ष समेत रहेका शाहाले बैंकबाट उद्योगीले सहूलियत पाएपछि उनीहरुले पनि आफ्नो ग्राहकलाई सहूलियत दिनुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *