‘ट्रम्प अमेरिकी मात्र नभइ विश्वभर हजारौं मृत्युका दोषी हुन्’
काठमाडौं। विश्वविख्यात समाजशास्त्री र बुद्धिजीवी नोम चोम्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हजारौं अमेरिकीको मृत्युको दोषी भएको आरोप लगाएका छन् । ट्रम्पले चुनावी लाभ लिने र व्यापारीहरुलाई लाभ दिलाउनको लागि अमेरिकीहरुको ज्यान दाउमा लगाएको बताए । बेलायती अखबार द गार्डियनलाई दिएको एक अन्तरवार्तामा चोम्स्कीले भने ‘दशकको सबैभन्दा ठूलो स्वास्थ्य संकटका बेला अमेरिकी राष्ट्रपति देशका रक्षक बनेको नाटक गर्दै आम अमेरिकीहरुको पिठ्युँमा छुरा रोपिरहेका थिए ।’
दोस्रो पटक अमेरिकी राष्ट्रपति बन्ने पना देखिरहेका ट्रम्पले धनी व्यापारीहरुको फाइदाको लागि स्वासथ्य सेवा र संक्रामक रोगहरुका विषयमा भइरहेको अनुसन्धानको लागि दिइने अनुदान रोकिदिने जस्ता कदम उठाएको चोम्स्कीले आरोप लगाए । चोम्स्कीले भने ‘यो यस्तो काम हो जो ट्रम्प आफ्नो कार्यकालको हरेक वर्ष गर्दै आइरहेका छन् ।’ सरकारी अनुदानमा कटौती हुँदै जाओस् र मानिसहरुलाई जति खतरामा पार्न सकिन्छ पारौं तर धनी र व्यवसायिक शक्तिहरुको मुनाफा बढ्दै जाओस् भन्ने ट्रम्पको योजना भएको चोम्स्कीको आरोप थियो ।
राष्ट्रपतिले राज्यका गभर्नरको काँधमा भाइरससँग लड्ने जिम्मेवारी थोपरेर आफ्नो कर्तव्यबाट पछि हटेको चोम्स्कीको आरोप थियो । उनले भने ‘तमाम मानिसहरुलाई मार्ने र आफ्नो चुनावी राजनीतिलाई प्रभावकारी बनाउनको लागि यो राम्रो रणनीति हो ।’ अमेरिकीहरुको मृत्युको लागि के ट्रम्पलाई दोषी मान्नुहुन्छ ? भन्ने प्रश्नमा चोम्स्कीले भने ‘हो, तर कुरा केवल अमेरिकीहरुको होइन । पूरै विश्वको लागि ट्रम्पले यही गरेका छन् । अमेरिकीहरुविरुद्ध आफ्नो अपराध लुकाउनको लागि उनी कसै न कसैलाई बलीको बोको बनाइरहन्छन् ।’ चोम्स्कीले अगाडि भने ‘विश्व स्वास्थ्य संगठनको फण्डिङ रोक्ने ट्रम्पको निर्णयले यमन र अफ्रिकी महादेशमा कैयौं मानिसहरुको ज्यान लिनेछ ।’
Facebook Comment