पर्सामा जेठ ५ गतेसम्म निषेधाज्ञा, सेना परिचालन गरिने
वीरगञ्ज । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार एक सूचना जारी गर्दै निषेधाज्ञा जारी गरेको जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
मंगलबार देखि जेठ ५ गतेसम्म जारी गरिएको निषेधाज्ञामा औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने जनाइएको छ। यस्तै प्रशासनले सूचना जारी गरी कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका र अति जोखिममा रहेका स्थानमा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।
पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।
Facebook Comment