ला लिगा जुन १२ देखि सुरु हुने सम्भावना

डिसी नेपाल
३१ वैशाख २०७७ ०:०१

काठमाडौं । अध्यक्ष जाभियर टेबासले स्पेनिस ला लिगा आगामी जुन महिनाको १२ तारेखदेखि सुरु हुनसक्ने बताएका छन । लिगा सुरु हुनुअघि प्रत्येक खेलाडी र अधिकारीहरूको परीक्षण गरिने उनले बताए ।

लिगले खेलाडी र म्याच अधिकारीको परीक्षणपछि बन्द रङ्गशालामा खेल सुरु गर्ने जनाएको छ । आइतबार स्पेनको शीर्ष दुई डिभिजनका पाँच खेलाडीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जनाएको थियो । उनीहरू पाँचैजनालाई आइसोलेशनमा राखिएको छ । लगातार दुईपटकको परीक्षणमा सङ्क्रमण नरहेको पुष्टि भएपछि मात्रै पाँचैजनालाई प्रशिक्षणमा ल्याइने टेबासले बताए । गत सातादेखि ला लिगाले आफ्ना खेलाडीमा परीक्षण सुरु गरेको हो ।

लिगको क्रममा सङ्क्रमण शून्य हुनुपर्ने बताउदै टेबासले प्रत्येक खेलाडीलाई परीक्षणपछि मात्रै मैदानमा उतारिने योजनाबारे प्रष्ट्पारे । उनले राष्ट्रिय प्रतियोगिताहरू जुलाइ ३१ सम्म सम्पन्न हुने लक्ष्य राखेर प्रतियोगिताको पुनर्तालिका गर्न लागिएको बताए । यूरोपेली प्रतियोगिता अगष्ट महिनाको अन्त्यसम्म सम्पन्न हुने लक्ष्य राखिएको उनले बताए ।

बार्सिलोनासहित अन्य क्लबले गत् सातादेखि प्रशिक्षण सुरु गरिसकेको छ । स्पेन कोरोनाभाइरसको सङ्क्रमणले यूरोपमा सबैभन्दा बढी प्रभावितमध्येको राष्ट्र हो । स्पेनमा दुई लाख ६४ हजार ६६३ जना सङ्क्रमित छन् भने २६ हजार ६२१ जनाको मृत्यु भइसकेको छ ।
फुटबल प्रतियोगिता आर्थिक अवस्था उकास्ने एक महत्वपूर्ण पाटो रहेकोले बिस्तारै प्रतियोगिताका खेल सुरु गर्न लागिएको टेबासले उल्लेख गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *