यूएईमा ६ जना नेपाली कामदारमाथि निर्घात कुटपिट (तस्वीर भिडियोसहित)

बिजय भुसाल
१ जेठ २०७७ ७:२०

इटाली। यूएईमा मंगलबार राति नेपाली कामदारहरुलाई निर्घात रुपमा कुटपिट गरिएको छ। यूएईको दुबई जबिल अलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपालीहरुलाई यसरी कुटपिट गरिएको हो। कुटपिट हुँदा पाँच नेपाली घाइते भएका छन्।

बाङ्लादेश मुलका कम्पनीका सुपरभाइजर र अरु विदेशी कामदार मिलेर नेपालीहरुलाई कुटेको पीडितहरुले डिसी नेपाललाई बताएका छन्। ‘कोठामा ६ जना थियौं मोबाइलमा लुडो र क्यारेमबोर्ड खेलिरहेका बेला उनीहरु आएर मर्ने गरी पाइपले पिटे। कोठा बाहिर तल लगेर पनि फेरि कुटे। हामी कोठामा साथीहरु मात्र थियाैं तर एक्कासी आएर किन कुटे हामीलाई पनि थाहा छैन,’ पीडित राम स्याङ्तानले डिसी नेपालसँग भने।

‘हामीलाई पिट्ने अहिले प्रहरीबाट मुक्त भएर खुलेआम घुमेको छ । हामीमाथि अन्याय भएको छ ,कतिबेला के हुन्छ हामी त्रासमा छौं,’ उनले थपे। उनको शरीरभरी निलडाम र टाउकोमा घाउ छ । यसरी निर्घात कुटपिटमा परी घाइते हुनेहरुमा राम स्याङ्तान, बिष्णु दर्लामी, गणेश पुरी, अजय सुनारी र मान बहादुर स्याङ्तान छन्।

यो विषयमा पीडितहरुले यूएईस्थित नेपाली राजदूतावाससँग गुहार मागेका छन्। उनीहरु आफूले नै दूतावासलाई फोन गरी घटनाबारे जानकारी पनि गराएका छन् । तर दूतावासले कस्तो सहयोग गर्छ वा आक्रमणकारीमाथि कानुनी कारवाहीका लागि युएईको सरकारलाई भनेको छ कि छैन भन्ने जानकारी भने पीडितहरुलाई हालसम्म दिएको छैन।

दूतावासका कुनै पनि सदस्यहरु निर्घात पिटाइमा परी घाइते भएका नेपालीहरुको अवस्था बुझ्न् हालसम्म त्यहाँ पुगेका पनि छैनन्। दूतावासबाट सहयोग हुन्छ कि हुन्न भन्नेमै पीडितहरु दोधारमा छन्। तर, आशा भने मारेका छैनन्।

यो घटनापछि सो क्षेत्रमा रहेका नेपालीहरु त्रसित छन्। ‘कतिबेला कसलाई के हुने हो भन्ने डर हामीमा छ हामी त्रसित छौं,’ राजु पराजुलीले भने। समस्यामा परेका नेपालीहरूले ६ मे मै डिसी नेपालले प्रसारण गरेको रिपोर्टमा उनीहरुलाई क्याम्पबाट नै त्रास भइरहेको, म्यानेजर र सुपरभाइजरबाट नै अमानवीय व्यवहार हुँदै आएको र कुटपिटसमेत हुने गरेको जानकारी गराएका थिए।

सो रिपोर्ट तयार गरेर ५ मे मा डिसी नेपालले उनीहरुको समस्यालाई समेटेर समस्यामा परेका नेपालीहरुका बारेमा जानकारी लिन युएईका राजदुत कृष्ण प्रसाद ढकालसँग समय माग्दा उनले समय दिन चाहेनन्। राजदूतावासको प्रवक्ता रिता धितालसँग पनि समय माग्दा उनले पनि यो बिषयमा बोल्न चाहिनन्।

त्यहाँ एउटै कम्पनीका नेपाल फर्किन नपाएर समस्यामा परेका तीन सय पचासको संख्यामा नेपालीहरु छन्। सरकारबाट पनि यो विषयमा कुनै चासो दिएको देखिँदैन।

कोरोना भाइरसका कारण नेपाल आउन नपाएपछि उनीहरु अहिले कम्पनीको दिएको ठाउँमा बस्दै आएका छन् ।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *