सर्वदलीय बैठकमा महन्थ ठाकुरको गुनासो–मधेसीलाई हेप्नु हुन्छ
काठमाडौं। भारतले नेपाली भूमिभित्र सडक निर्माण गर्दै चीनको सिमनासम्म पुर्याएपछि त्यसको विरोधमा नेपालको सडकदेखि सदनसम्म विरोध भइरहेको छ। मुलुकको सीमा मिचिएको विषयमा मुलुकभित्रका राजनीतिक दलको साझा धारणा बनाउन भन्दै बुधबार प्रधानमन्त्री केपी ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र पूर्वप्रधानमन्त्रीको सर्वदलीय बैठक आह्वान गरेका थिए।
प्रधामन्त्री ओलीले बैठकको सुरुवात गर्दै भारतले नेपाली भूमि अतिक्रमित गरेको सडक बनाएको विषयलाई बैठकमा प्रवेश गराएका थिए। त्यसपछि पूर्वप्रधानमन्त्रीहरुले क्रमश आफ्नो धारणा राखेका थिए। प्रतिपक्ष दलको नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लिखित भाषण पढ्दै आफ्नो धारणा राखेका थिए। उनले सरकारको राम्रो कामलाई आफ्नो दलले जहिल्यै पनि सहयोग गरेको तर सरकारले राम्रो काम गर्न नसको बताएका थिए।
पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीलगायतले आफ्नो धारणा राखिसकेपछि जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले आफ्नो धारणा राखेका थिए।
‘हामीले त सरकारलाई सधैं समर्थन नै गरेका छौं। आज बोलाउनु भयो, हामी आयौं, हामीलाई पनि बोलाउनु भएकोमा धन्यवाद। मधेसीलाई अलि हेप्नु हुन्छ। मानिस जस्तो व्यवहार पनि गर्नुहुन्न,’ बैठकमा ठाकुरले भनेका थिए।
अन्य दलका नेता भन्दा फरक शैलीमा प्रस्तुत भएका नेता ठाकुरले सरकारलाई सधैं समर्थन गरेको तर सरकारले आफूहरुलाई हेप्ने गरेको गुनासो गरेका थिए। उनले मधेसी नेता र जनतालाई मान्छेजस्तो व्यवहारसमेत नगरेको आरोप लगाएका थिए।
‘हामीले त सरकारलाई सधैं समर्थन नै गरेका छौं। आज बोलाउनु भयो, हामी आयौं, हामीलाई पनि बोलाउनु भएकोमा धन्यवाद। मधेसीलाई अलि हेप्नु हुन्छ। मानिस जस्तो व्यवहार पनि गर्नुहुन्न,’ बैठकमा ठाकुरले भनेका थिए। ठाकुरले मधेसका विषयमा सरकारले विभेद गरेको भन्दै गुनासोसमेत गरेका थिए।
बैठकमा सबै जसो नेताले कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न सुझाव दिएपनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेमकिपा सांसद प्रेम सुवालले कुटनीतिक रुपमा समस्या समाधान नहुने भन्दै अब अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्ने बताएका थिए। भारतको हेपाहा प्रवृत्तिलाई रोक्न अब अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने उनीहरुको भनाइ थियो।
सबै दलका नेता र पूर्वप्रधानमन्त्रीहरुको भनाइ सुनिसकेपछि प्रधानमन्त्री ओलीले सरकारले कुटनीतिक रुपमै समस्याको समाधान गर्न चाहेको तर त्यसका लागि भारतले वहाना बनाइरेको बताएका थिए।
बैठकमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार भारतले नेपाली भूमिमा सडक बनाएको थाहा पाउने वित्तिकै नेपाल सरकारले भारतलाई कुटनीतिक नोट पठाएर आफ्नो कुरा दृढतापूर्वक राखेको बताएका थिए।
प्रधानमन्त्री ओलीले कुटनीतिक रुपमै वार्तामार्फत समस्याको समाधान गर्न चाहेको तर भारतले कोरोनापछि मात्रै वार्तामा बस्ने जवाफ दिएको भन्दै प्रधानमन्त्री ओलीले ‘कोरोनाको उपचार भएपछि वार्ता गर्छु भन्ने, बाटो खन्न चाँहि कोरोनाले नरोक्ने?’ भन्दै व्यंग्य गरेका थिए।
Facebook Comment