उपत्यकामा अपरिचितलाई रोक

डिसी नेपाल
२ जेठ २०७७ ८:३७

काठमाडौँ। उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन्। नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन्।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ । मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिकामा, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एकएक जना गरी तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ ।

कतै अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतै अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । त्यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा मात्र सञ्चालन गरिएको छ । सडकमा प्रहरीले कडा चेकजाँच गर्न थालेको छ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजनालाई थप प्रभावकारी बनाउने र पालिका स्तरको समन्वय जिल्लाको स्थिति ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ गर्ने तयारी गरिएको छ । यसअघि आ–आफ्नो पालिकामा निर्माण गरिएका क्वारेन्टाइन थप व्यवस्थित गर्ने, आइसोलेनसन वार्ड थप गर्न सक्ने क्षमता भएका स्थानीय तहले आइसोलेसन वार्ड थप गर्ने तयारी गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

पीसीआर परीक्षण गर्ने
काठमाडौँ महानगरपालिकाले समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि र स्वयंसेवकको नमुनाका रूपको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ । महानगरले मात्र उपत्यकामा कोरोना भाइरसका सङ्क्रमित व्यक्तिलाई प्रवेशमा रोक लगाउन नसक्ने भएकाले उपत्यकाका सबै नगरपालिकाले उच्च सतर्कता अपनाउनुपर्ने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। उपत्यकामा प्रवेश गर्ने नाकामा नै पीसीआर गरेर मात्र प्रवेश गर्न दिने व्यवस्था गर्न सके मात्र उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण रोकिन सक्ने उनले बताए।

प्रवेश नाकामै कडाइ गर्नुपर्छ
ललितपुर महानगरपालिकाले काठमाडौँ उपत्यकामा प्रवेश गर्ने मुख्य नाका जोडिएका स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले नाकासँग जोडिएका सबै स्नानीय तहले सवारी साधन कडा चेकजाँच गर्ने बताउनुुभयो । नाकामा हेल्थडेक्स स्थापना गर्ने र गैर नाका हुँदै प्रवेश गर्ने व्यक्तिलाई निगरानी राख्नुपर्ने त्यसका लागि आवश्यक सहजीकरण ललितपुर महानगरपालिकाले गर्न तयारी रहेको उहाँले बताउनुभयो । उपत्यकामा प्रवेश गरेको कोरोना भाइरसलाई समुदाय स्तरमा फैलनबाट रोक्न सबै जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए। गाेरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *