१० लाख शरणार्थी बस्ने विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोनाभाइरस पस्यो

डिसी नेपाल
२ जेठ २०७७ ८:४४

काठमाडौं। विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोनाभाइरस संक्रमणले प्रवेश गरेको छ । बंगलादेशको कक्स बजारस्थित कुटुपलोंग शरणार्थी शिविरमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ म्यानमारबाट भागेर आएका करिब १० लाख रोहिंग्याको बसोबास छ । सोही शिविरमा २ जना संक्रमित भेटिएका हुन् ।

संक्रमित दुवैजनालाई आइसोलेसनमा राखेर उपचार थालिएको छ भने अन्य झण्डै एकहजार नौसय जनालाई पनि आइसोलेसनमा राखिएको बंगलादेशको सरकारी चिकित्सकहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । शरणार्थी शिविरमा बसोबास गर्नेहरु १४ मार्चदेखि नै बन्दाबन्दीमै रहेको पनि ती चिकित्सकले बताएका छन् ।

बाक्लो बस्तीमा बसिरहेको सो शिविरमा सामाजिक दुरी कायम गर्न संभव नभएको बंगलादेशस्थित सेभ द चिल्ड्रेनका स्वास्थ्य निर्देशक डा. शमिम जाहनले बताएका छन् । सो शिविरमा प्रति एक वर्ग किलोमिटरमा ४० देखि ७० हजार शरणार्थी बसिरहेकाले संक्रमणको जोखिम बढ्न सक्ने खतरा ती निर्देशकले औंल्याएका छन् ।

अल्पसंख्यक रोहिंग्या मुलसमानमाथि म्यानमारमा हिंसा हुन थालेपछि सन् २०१७ देखि उनीहरु बंगलादेशलगायत विभिन्न देशमा शरणार्थीको रुपमा बसिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *