प्रचण्डले ओलीकाे गर्धन छिनाएकाे नक्कली भिडियाे बनाउने पक्राऊ

डिसी नेपाल
२ जेठ २०७७ १०:१५

काठमाडौं । सरकारका विरुद्ध आक्रोश बढिरहेका बेला प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हिंसात्मक भिडियो बनाएपछि सिन्धुलीका एक २३ वर्षीय युवा बिहीबार पक्राउ परेका छन्।

उनले हिंसात्मक भिडियो बनाई प्रधानमन्त्री केपी शर्मा ओली र दाहालको कटुतापूर्ण सम्बन्ध झल्किने खालको एउटा छोटो भिडियो बनाई फेसबुक तथा अन्य सोसल मिडियामा पोष्ट गरेका थिए।

उनलाई राजधानीबाट खटिएको प्रहरीको विशेष टोलीले सातदिन लामो प्रयासपछि पक्राउ गरेको हो। मधु पौडेल नाम गरेका उनलाई सिन्धुलीमा आफ्नो मामाघर गएको बेला पक्राउ गरिएको बताइएको छ।

उनको फेसबुक पेजमा भने उनको नाम मधु पौडेल विद्रोही लेखिएको छ। आफ्नो नामभन्दा तल उनले ‘अपमान गर्नु कसैको स्वाभाव हुनसक्छ तर सम्मान गर्नु मेरो हिन्दु संस्कार हो । जय देश।’ लेखका छन्।

समाचारअनुसार, उनले यस्तो हिंसात्मक भिडियो बनाए कि त्यो जो सुकैले सजिलै हेर्न सक्ने अवस्थाको पनि थिएन। सरकारप्रति आक्रोश पोख्नेहरुले सो भिडियो देश विदेशमा समेत शेयर गर्न भ्याइसकेको अवस्थामा प्रहरीले उनको खोजी तीब्र पारेको थियो।

प्रहरी स्रोतका अनुसार, उनले धारिलो खुकुरी बोकेका प्रचण्डले प्रधानमन्त्री ओलीको गर्धनमा प्रहार गरेको हृदयविदारक काल्पनिक एनिमेटेड भिडियो बनाएका थिए। भिडियोले उनको सरकारविरुद्धको आक्रोश भन्दा पनि आपराधिक मानसिकता प्रष्टै देखिने भएकाले साइबर अपराधमा पक्राउ गरी थप अनुसन्धान गर्नु परेको बताइएको छ।

साइबर व्यूरोका एसएसीपी  नविन्द अर्यालले विशिष्ट व्यक्तिको  मान मर्धन हुने क्रियाकलापमा संलग्न भएको अभियोगमा उनलाई पक्राउ गरिएको जानकारी दिए। उनले साइबर व्यूरोको टोलीले उनलाई सिन्धुलीबाट पक्राउ गरेको र सो विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *