चीनले खोज्यो कोरोनाभाइरस मार्ने फर्मुला, एकैपटक आक्रमण गर्ने ४ हतियार खोजियो
काठमाडौं। चीनका वैज्ञानिकहरुले कोरोनाभाइरसलाई मार्ने फर्मुला खोजेका छन् । यी वैज्ञानिकहरु यो निष्कर्षमा पुगेका छन् कि एउटा एन्टिबडीबाट कोरोनाभाइरसलाई हराउनु कठिन छ त्यसैले ४ एन्टिबडी मिलेर कोरोनाभाइरसलाई परास्त गर्नेछन् ।
वैज्ञानिकको अनुसन्धान रिपोर्टका आधारमा समाचार एजेन्सी रोयटर्सले लेखेको समाचार अनुसार चार एन्टिबडी मिलेर भाइरसमाथि चौतर्फी आक्रमण गर्नेछन् । यसबाट कोरोनाभाइरसको बाहिरी काँडेदार प्रोटिनको तह नष्ट हुनेछ । यस्तो अवस्थामा भाइरस मानव शरीरको कोशिकामा टाँसिन सक्ने छैन । कोशिकामा टाँसिन नपाएपछि भाइरस विकसित हुन नपाएरै मर्नेछ ।
चीनका दुई दर्जनभन्दा धेरै वैज्ञानिकहरुको एक समूहले कोरोनाभाइरस संक्रमणपछि निको भएका व्यक्तिहरुको शरीरबाट ४ फरक फरक किसिमका एन्टिबडी निकाल्न सफल भइसकेका छन् । अहिलेसम्म अन्य देशका वैज्ञानिकले भने एक किसिमको मात्र एन्टिबडी निकाल्न सकेका छन् । यी चार एन्टिबडीको ककटेल कोरोनाभाइरस मार्न सफल देखिएको छ । यी चार किसिमका एन्टिबडीले कोरोनाभाइरसको बाहिरी काँडेटार तहलाई छुनासाथ नष्ट गर्न थाल्छन् । त्यसैले भाइरस कोशिकाहरुमा टाँसिन सक्दैन ।
यो खोजसँगै चीनका वैज्ञानिकहरुले यी ४ एन्टिबडीको उपयोग गरेर कोरोनाभाइरस मार्नको लागि प्रभावकारी भ्याक्सिन बनाउन सकिने विश्वास लिएका छन् । वैज्ञानिकहरुलाई यति कुरामा पूर्ण विश्वास छ कि यी ४ एन्टिबडीको प्रयोगबाट कोरोनाभाइरस मार्न प्रभावकारी भ्याक्सिन बन्न नसकेको अवस्थामा पनि यत्तिको भ्याक्सिन त निश्चित रुपमा बन्नेछ जसले यो भाइरसलाई रोक्न सक्नेछ ।
यस्तो भ्याक्सिनलाई प्रिभेन्टिभ भ्याक्सिन भनिन्छ । यदि कोरोनाभाइरसले भविष्यमा म्युटेशन भएर आफ्नो स्वरुप परिवर्तन गरेको खण्डमा पनि यी ४ एन्टिबडीहरुमध्ये कुनै एक एन्टिबडी भाइरससँगै विकसित भएर भविष्यमा पनि उपयोगी हुनेछ । अर्थात जुन एन्टिबडी भाइरससँगै विकसित हुनेछ त्यही एन्टिबडीले भाइरसलाई मार्नेछ ।
चीनको बेइजिङ मेडिकल युनिभर्सिटी, बेइजिङ इन्ष्टिच्युट अफ लाइफ साइन्ससमेत चीनका करिब १ दर्जन वैज्ञानिक संस्थानहरु र प्रयोगशालाहरुमा वैज्ञानिकहरु यी ४ एन्टिबडी खोज्ने काममा जुटेका थिए । चार एन्टिबडीको खोजीका सम्बन्धमा अमेरिकन एसोसिएसन फर द एड्भान्समेन्ट अफ साइन्सको म्यागजिन साइन्समा एक रिपोर्ट प्रकाशित भएको छ ।
वैज्ञानिकहरुले खोजेका चार एन्टिबडीको नाम बी ३८, एच ४, बी ५, र एच २ दिइएको छ । यी चारवटै एन्टिबडीले भाइरसको बाहिरी तहमा रहेको काँडेदार एस प्रोटिनलाई हाम्रो शरीरका कोशिकाहरुमा भएको एसीइ २ इन्जाइममा टाँसिन दिँदैनन् । एन्टिबडीका कारण भाइरसको एस प्रोटिन पग्लिन थाल्छ र केही समयमै भाइरस मर्छ । यी एन्टिबडीलाई कोरोना संक्रमणपछि निको भएका बिरामीको शरीरबाट लिइएको हो ।
यी एन्टिबडीको प्रयोगशालामा मुसामा गरिएको परीक्षण सफल भएको छ । वैज्ञानिकहरुले यी चारवटै एन्टिबडीमा कोरोनाभाइरस मार्ने शक्ति भएको पाएका छन् । यीमध्ये २ एन्टिबडी कोरोनाभाइरससँग पूर्ण रुपमा टाँसिन्छन् र भाइरसलाई मार्न थाल्छन् । अन्य २ एन्टिबडी भाइरसको आसपास रहेर आक्रमण गर्छन् । यो आक्रमणबाट कोरोनाभाइरसले केही गर्न सक्दैन ।
यो रणनीतिबाट चीनका वैज्ञानिकहरुले कोरोनाभाइरसलाई मार्ने नयाँ तरिका निकालेका छन् । दुई एन्टिबडीहरु कोरोनाको बाहिरी तहमा टाँसिएर त्यसलाई नष्ट गर्छन् भने अन्य दुई एन्टिबडीले आसपास रहेर कोरोनाको रासायनिक प्रक्रिया बढ्न दिँदैनन् । यस्तो स्थितिमा कोरोनाभाइरस निष्क्रिय हुन्छ ।
Facebook Comment