काेराेना कहर : मृत्यु हुनेहरूको सङ्ख्या तीन लाख नाघ्यो, ४४ लाख भन्दा बढी सङ्क्रमित

डिसी नेपाल
२ जेठ २०७७ १०:०६

काठमाडाैं। कोरोनाभाइरसको सङ्क्रमणका कारण विश्वभरि ज्यान गुमाउनेहरूको सङ्ख्या तीन लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर ४४ लाख भन्दा बढी सङ्क्रमित भइसकेका छन्।

उक्त सङ्क्रमणबाट निको हुनेहरूको सङ्ख्या भने १५ लाख पुगेको बताइएको छ। पछिल्लो तथ्याङ्कअनुसार सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा छन्।

१४ लाख भन्दा बढी सङ्क्रमित रहेको अमेरिकामा ज्यान गुमाउनेहरूको सङ्ख्या ८६ हजार पुग्न लागेको छ। अमेरिकामा मृत्यु हुनेहरूको सङ्ख्या सबैभन्दा बढी न्युयोर्क राज्यमा छ जहाँ २७ हजार भन्दा बढीको मृत्यु भएको छ।

रुसमा पनि सङ्क्रमितहरूको सङ्ख्या बढ्दो क्रममा छ। उच्च सङ्क्रमणका हिसाबले यूके तेस्रो स्थानमा छ। त्यहाँ हालसम्म ३३,६९३ ले ज्यान गुमाएका छन्। कोरोनाभाइरसका कारण अमेरिकाले “आधुनिक इतिहासमा सबैभन्दा कठिन जाडो याम” भोग्नुपर्ने हुनसक्ने एक जना विशेषज्ञले कङ्ग्रेसमा बताएका छन्।

अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभ्स् अन्तर्गतको एउटा उप-समितिमा बोल्दै ‌डाक्टर रिक ब्राइटले प्रारम्भिक चरणमा सरकारको निष्क्रियताका कारण मानिसहरूको ज्यान गएको बताएका छन्।

चिकित्सकीय सामाग्रीको अभावबारे आफूले गत ज्यानुअरीमा स्वास्थ्य मन्त्रालयका “शीर्ष नेतृत्व”समक्ष कुरा उठाएको तर त्यसबारे कुनै प्रतिक्रिया नपाएको उनको भनाइ छ। यसअघि डाक्टर ब्राइटले राष्ट्रपति डोनल्ड ट्रम्पले सुझाएको उपचारबारे चिन्ता व्यक्त गरेका कारण आफूलाई पदबाट निकालिएको बताएका थिए। ट्रम्पले भने उनलाई “असन्तुष्ट” कर्मचारीको संज्ञा दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *