एउटा जग्गा, १ जना वास्तविक जग्गाधनी, साढे ६ अर्ब रुपैयाँ मुआब्जा, १३ दावेदार, सक्कली को?
काठमाडौं। भारतमा आगामी जुलाइ ७ मा एउटा रोचक मुद्दाको सुनुवाइ हुँदैछ । यो ठूलो रकम मुआब्जा पाउने लडाइँ हो । यो लडाइँ जित्नेले ४ सय करोड भारु (झण्डै साढे ६ अर्ब नेपाली रुपैयाँ) मुआब्जा पाउनेछन् । भारत सरकारले जग्गा अधिग्रहण गरेवापत दिने यो मुआब्जा १ जना वास्तविक जग्गाधनीले पाउनेछन् । मुआब्जा पाउने व्यक्ति चरणजीत सिंह हुन् । तर, आफू वास्तविक चरणजीत सिंह भएको दावी गर्नेहरु १३ जना छन् ।
गुरुग्रामको खेडकी दौला नजिकै दिल्ली जयपुर हाइवेसँग जोडिएको ८ एकड जग्गालाई ७ वर्षअघि सन् २०१३ मा एनएचआइ र प्रदेश सरकारले अधिग्रहण गरेको थियो । २०१३ मा यो जग्गाको मुआब्जा रकम ४४ करोड थियो जुन रकम आजको मितिसम्म आइपुग्दा ब्याजसहित ४०० करोड पुगेको छ । यो विवाद यही ४०० करोड रकम पाउने विषयमा हो ।
यो मुआब्जा रकमको लागि सुरुवातमा ७ जना फरक फरक चरणजीत सिंहले आफू वास्तविक जग्गाधनी चरणजीत सिंह भएको भन्दै दावी गरेका थिए । यी सबैले आफ्ना मातापिताको नाम र कतिपयले त वंशावली समेत पेश गरेका थिए । एकपछि अर्को गर्दै ७ चरणजीत सिंह दावेदारी गर्दै आएपछि तीमध्येका एकले आफ्नो पहिचान प्रमाणित गर्न अदालत पुगे । त्यतिबेलादेखि जारी मुद्दाको सुनुवाइ ७ जुलाइमा हुँदैछ ।
सुरुमा यो मुद्दा अदालत पुग्दा ७ जना चरणजीत सिंह दावेदार थिए । तर, अदालतमा मुद्दा चल्दै गर्दा चरणजीत सिंह पनि थपिँदै गए । बीचमा थप ६ जना चरणजीत सिंह पनि थपिए । अहिलेसम्म आफू वास्तविक जग्गाधनी चरणजीत सिंह भएको भन्दै मुआब्जा दावी गर्नेहरु १३ जना पुगिसकेका छन् । यही बीचमा उक अभियन्ताले यो विवादबारे थाहा पाएपछि उनले पीएम विन्डोमा उजुरी गरिदिए । त्यसपछि पुलिसले यी सबै १३ जना चरणजीत सिंहविरुद्ध मुद्दा दर्ता गरेको छ ।
उजुरी दिने अभियन्ता रमेश कुमारका अनुसार यी १३ जनामध्ये कुनै पनि चरणजीत सिंह नभएको दावी पनि गरिएको छ । नयाँ दावीअनुसार दिल्लीका चरणजीत सिंहले १९८० मा यो जमिन किनेका थिए । तर, १९८४ मा भएको दंगामा उनको मृत्यु भयो । त्यसपछि उनको पूरै परिवार विदेश गएर उतै बसेको छ । यद्यपि यसको पनि पुष्टि भएको छैन । पुलिसलाई वास्तविक चरणजीत सिंहको खोजी गर्नु टाउको दुखाइको विषय भएको छ ।
Facebook Comment