हेलिकोप्टरबाट आठ पटक ओसारेपछि मात्रै छाङ्गरुमा सीमा सुरक्षा टोली अवरण
काठमाडौं। सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोलीलाई हेलिकोप्टरले आठ पटक ओसारेको छ। दार्चुलाको खलंगाबाट छाङ्गरुमा ८ पटक ओसारेपछि सशस्त्र प्रहरीको २५ जना, नेपाल प्रहरीको १८ जना तथा उनीहरुका लागि आवश्यक बन्दोबस्तीका सामान छाङ्गरुमा पुर्याइएको हो।
जटिल भौगोलिक अवस्थितिका कारण हेलिकप्टरले थोरै तौलमात्रै बोकेको थियो। यसअघि छाङ्गरु नजिकैको अर्को गाउँ हुम्लिङबाट दुई दिनको पैदलयात्रा गरि ३ जना प्रहरी भने बिहीबार छाङ्गरु पुगिसकेको छन्। त्यहाँ पुगेका २१ प्रहरी मध्ये सईको नेतृत्वमा १२ जना तिङ्करतर्फ प्रस्थान गर्नेछन्।
मौसमी अनुकुलता र भौगोलिक अवस्था सामान्य रहे छाङ्गरुबाट सो टोली शनिबार तिङ्कर पुग्ने दार्चुलाका डिएसपी पदमबहादुर बिस्टले जानकारी दिए। उनिहरु पैदलै १२ किमि पर रहेको तिंकर पुग्नेछन्।
यस्तै असईको नेतृत्वमा छाङ्गरुको नितिकुण्ड (सितापुल सिमा नजिक)मा ९ जनाको प्रहरी चौकी शुक्रबारबाट बसेको छ। यसरी २१ जनाको नेपाल प्रहरीको टिम समेत सिमा क्षेत्रमा थपिएको छ।
लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ। नेपालले पनि तिंकरसम्म पुग्ने सड्क तीव्र गतिमा बनाउने र आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरेको छ।
सशस्त्र प्रहरीको सीमा सुरक्षाफौज तैनाथ गर्ने क्रममा नेपाली सेनाको हेलिकोप्टरले सशस्त्र प्रहरी नेपाली प्रहरीको टोलीलाई त्यहाँ पुर्याएको छ। गृह मन्त्रालयले पश्चिम नेपालको सिमावर्ती लिपुलेक कालापानी क्षेत्र हेर्न छाङरुमा तत्काल बोर्डर अब्जरबेशन पोष्ट (बीओपी) पठाउने तयारीअनुसार बुधबार त्यहाँ बीओपी स्थापना भएको थियो। हाल बीओपी रहेको भवन भाडामा छ।
एक सय ६५ जना शसस्त्रको टोली रहने गुल्म बनाउने योजनासहित १५ रोपनी जग्गामा ९ करोडको लगानीबाट भवन बनाउने गृहको तयारी छ। यसका लागि शसस्त्र प्रहरी बलले नाप लिने काम गरिसकेको छ।
Facebook Comment