सात सञ्चारकर्मीसहित २६५ को स्वाब सङ्कलन
कपिलवस्तु । जिल्लाका सात सञ्चारकर्मी सहित थप २६५ को स्वाब सङ्कलन गरिएको छ । जिल्लाका विभिन्न पालिकामा स्वाब सङ्कलन गरी शुक्रबार प्रदेश नं ५ को भैरहवास्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कपिलवस्तु अस्पतालमा ११०, महाराजगञ्ज नगरपालिकामा १०५ र विजयनगर गाउँपालिकामा ५० जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
रिपोर्टिङका क्रममा जोखिममा परेका सात पत्रकारले महाराजगञ्ज– ८ सिसवा स्वास्थ्यचौकीमा पिसिआर परीक्षणका लागि स्वाब दिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए। राजमार्ग क्षेत्र र तौलिहवाका दुईदुई र कृष्णनगर क्षेत्रका तीन जनाको स्वाब संकलन गरिएको हो । यस्तै चार दिनअघि कपिलवस्तु अस्पतालमा कार्यरत एक नर्स कोरोना सङ्क्रमित भेटिएपछि आज अस्पतालका कर्मचारी, प्रहरी र नर्सका परिवार गरी कुल १०५ जनाको स्वाब सङ्कलन गरिएको फोकल पर्सन थापाले बताए ।
बिहीबार मात्र अस्पतालका मेसु र सङ्क्रमित नर्ससहित सात जनाको स्वाब संकलन गरिएको थियो । यस्तै विजयनर गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ५० जनाको समेत आज स्वाब सङ्कलन गरिएको छ । भारतका विभिन्न शहरबाट फर्कर क्वारेन्टाइनमा सात दिन बिताएकाहरुको स्वाब सङ्कलन गरिएको हो । हालसम्म कुल ९३४ को स्वाब सङ्कलन गरिएको छ ।
Facebook Comment