कोरोनाको जोखिम बढेपछि पाल्पा बन्द

डिसी नेपाल
२ जेठ २०७७ २०:०२

रामपुर । छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा कोरोना भाइरस सङ्क्रमणका बिरामी भेटिएपछि पाल्पा जिल्लालाई बन्द गरिने भएको छ । कोरोना सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले शनिबार बिहान ५ देखि जेठ ५ गते सोमबार राति १२ बजेसम्म जिल्ला बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले जानकारी दिए ।

औषधि, एम्बुलेन्स, शववाहनलगायत अत्यावश्यक वस्तुको गाडीबाहेक कुनै पनि सवारी साधन सञ्चालन नगर्ने र उद्योगव्यवसायसमेत सञ्चालन नगर्ने निर्णय बैठकले गरेको छ ।

आइशोलेशन वार्ड बनाइने

जिल्लामा कोरोनाको सङ्क्रमणका बिरामीका लागि १२० शय्याको आइसोलेशन कक्ष तयार गरिने भएको छ । कोरोना रोकथामका लागि सम्बन्धित पालिकाको सहयोगमा रामपुर र तानसेन नगरपालिकामा पचासपचास, रम्भा र रिब्दिकोट गाउँपालिकामा १०/१० शय्याको आइसोलेशन कक्ष तयार गर्ने निर्णय भएको छ । यसअघि तानसेनको पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल र रामपुर अस्पतालमा गरी ६२ शय्याको आइसोलेशन कक्ष तयार पारिएको छ ।

यस्तै कोरोना भाइरस सङ्क्रमण बढ्दै जान थालेपछि रामपुर नगरपालिकासँग जोडिएका विभिन्न पालिकाका सीमानाकामा कडा गर्न ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । अन्तरपालिका तथा गण्डकी प्रदेशसँग जोडिएका ३२ सीमानाकामा सुरक्षा व्यवस्था मजबुत बनाउन ज्यालादारीमा सुरक्षाकर्मी परिचालन गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

यसैबीच कोभिड–१९ बाट मुक्तिको कामना गर्दै स्याङ्जा, पाल्पा र तनहुँको संगमस्थल केलादीघाट धाममा ज्येष्ठ नागरिकले भजनमार्फत भगवान्को प्रार्थना गर्न थालेका छन् । प्रत्येक दिन बिहान, दिउँसो र साँभm सामाजिक दूरी कायम गरी ज्येष्ठ नागरिकले कोरोना भगाउन भजनकीर्तन गर्दै आत्मशान्तिको कामना गरिरहेका छन् ।

कोरोना भाइरस सङ्क्रमणले महामारीको रुप लिँदै गएपछि यहाँ कोरोनाको कहर भगाउन भजनकीर्तन गर्दै भगवान्सँग प्रार्थना गर्ने गरिएको ७७ वर्षीय कृष्णदासी पौडेलले बताए।

मन्दिरमा हुने धार्मिक गतिविधि बाहिरबाट आउनेका लागि खुला गरिएको र पूजापाठ सबै स्थगन गरिएको मन्दिरका हेरालु ६२ वर्षीय भगवती उपाध्याय बताउँछन् । केलादीधाम आश्रममा हाल पाँच हेरालुसहित २२ ज्येष्ठ नागरिक रहेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधामका सचिव घनश्याम खनालले बताए । यहाँ बाहिरबाट भने प्रवेशमा निषेध गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *