युवा क्षमता अभिवृद्धि गर्दै खेलकूद पूर्वाधार निर्माणमा जोड
![युवा क्षमता अभिवृद्धि गर्दै खेलकूद पूर्वाधार निर्माणमा जोड](https://www.dcnepal.com/wp-content/uploads/2020/05/xmazoqe30sl41.jpg)
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा खेलकूद पूर्वाधार निर्माण कार्यमा जोड दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा खेलकूद पूर्वाधार निर्माण र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने बताएकी छन ।
नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) सम्पन्न भएको थियो । सागमा नेपालले हालसम्मकै बढी ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्य पदक प्राप्त गरेको थियो । उक्त प्रदर्शनलाई कायमै राख्दै अन्तर्राष्ट्रिय, राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा सहभागी गराई बढीभन्दा बढी पदक प्राप्त गर्न सक्ने गरी खेलाडीको क्षमता विकास गरिने आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । खेलकुदको पूर्वाधारको अभाव र खेलाडीलाई आकर्षित गर्ने योजना नहुँदा राष्ट्रिय खेलाडी खेलकुद गतिविधि त्यागेर पलायन हुँदै आएका छन् । सरकारले वार्षिक नीति मार्फत् खेलाडीको क्षमता विकास गर्ने प्रतिबद्धता जनाएको हो ।
तीनवटै तहमा सुविधासम्पन्न खेलकूद पूर्वाधारको निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइनेछ । यस्तै उच्च पर्वतीय खेलकूद तालीम केन्द्र स्थापना गर्ने कार्य अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले आगामी आवमा निजी क्षेत्रबाट पहल गरिएका खेलकूद पूर्वाधार निर्माणलाई प्रोत्साहन गर्ने नीति अघि सारेको छ । गत आवमा युवा तथा खेलकूद मन्त्रालयका लागि रु तीन अर्ब ९९ करोड बजेट छुट्याएको थियो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति भण्डारीले युवाको क्षमता अभिवृद्धिका लागि नव प्रवर्तन केन्द्र स्थापना गर्ने घोषणा गर्नुभयो । नव प्रवर्तन केन्द्र सातवटै प्रदेशमा स्थापना गरिनेछ ।
Facebook Comment