दियो बालिन् आश्रित पत्नीले तर, आफ्ना पतिको फोटोमा मात्र
काठमाडौं। एउटा दैनिक पत्रिका भूईँमा ओछ्याएर त्यसमाथि पतिको फोटो। अनि दियो बालिन् उनले र सम्झिइन् २७ वर्षअघि मृत्यबरण गरको आफ्ना पतिलाई।
प्रसंग हो, एमालेका एकजना प्रभावशाली नेता जीवराज आश्रितकी पत्नी माया ज्ञवालीको। २७ वर्षअघि आजकै दिन चितवनको दाशढुंगाबाट त्रिशुली नदीमा जीप खस्दा ज्यान गुमाएका पतिलाई आज श्रद्धाञ्जलि दिँदै गरेको एउटा तस्वीर ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा राखेकी छन्।
राता फूलहरुले सिंगारेको आश्रितको फोटोको देब्रतिर उनले फूल भरिएको कलश राखेकी छिन् भने दाइने साइडमा दियो बालेकी छन्। र, त्यसमा उनले लेखेकी छन्, ‘२७ औं पुण्य दिनमा हार्दिक श्रद्धा सुमन अर्पण, साथै देशले एउटा सपुत गुमाएको थियो र हामी परिवारलाई सधै अभाव खड्किरहेको छ।’
लामो समयसम्म पार्टी र नेताहरुको बेवास्तामा परेको जीवराज आश्रितको परिवार केही वर्षदेखि भने राहत महसुस गर्दैछ किनकि पार्टीको पहलमा उनीहरुका लागि राजधानीमा एउट सानो घर बनाइएको छ र आश्रित पत्नी माया यतिबेला सत्तारुढ दलकी सांसद छिन्।
सो दुर्घटनामा परी जीवन गुमाएका आश्रितका राजनीतिक सहयोद्धा एवं नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीकी पत्नी विद्यादेवी भण्डारी यतिबेला मुलुकको राष्टपति छिन्।
स्वर्गीय भण्डारीका नाममा धेरै प्रतिष्ठानहरु, संस्थाहरु र विद्यालय, विश्वविद्यालय बनेका र बन्ने क्रममा छन् तर आश्रित एउटा प्रतिष्ठानबाहेक गुमनाम जस्तै छन्। सांसद एवं आश्रित पत्नी ज्ञवालीले आज २७ औं वार्षिक श्रद्धाञ्जलि दिँदा आफ्ना पतिको मात्र तस्वीर राखेकी छिन्। मदन आश्रितलाई छुट्याउन थालिएपछि भित्रभित्रै कुडिएकी र पीडित बनेकी ज्ञवालीको के यो आक्रोशको अभिव्यक्ति त होइन?
Facebook Comment