विश्व स्वास्थ्य संगठनमा जान चीनको शर्त ताइवानले अस्वीकार गर्यो
काठमाडौं। ताइवानले विश्व स्वास्थ्य संगठनमा सहभागी हुनका लागि चीनको शर्त अस्वीकार गरिदिएको छ । चीनले ताइवानलाई विश्व स्वास्थ्य संगठनका जान दिनको लागि ताइवानले आफूलाई चीनकै एक हिस्सा स्वीकार गर्नुपर्ने शर्त राखेका थियो । शर्त स्वीकार गरेमा मात्र विश्व स्वास्थ्य संगठनको बैठकमा ताइवानले भाग लिन पाउने चीनको शर्त थियो ।
ताइवान अहिले विश्व स्वास्थ्य संगठनको सदस्य होइन । उसले अर्को हप्ता हुने वर्ल्ड हेल्थ एसेम्बलीमा पर्यवेक्षकको रुपमा भाग लिने कोसिस गरिरहेको छ । चीनले यसमा आपत्ति जनाएको छ किनकि चीनले ताइवानलाई आफ्नै एक हिस्सा मान्छ । चीनले ताइवानलाई ‘एक चीन नीति’ अन्तर्गत मात्र एसेम्बलीमा भाग लिन दिने जनाएको छ । यसको अर्थ ताइवान चीनकै एक हिस्सा हो भन्ने हुन्छ ।
चीनको विदेश मन्त्रालयका अनुसार ताइवानको सत्तारुढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले यो शर्त अस्वीकार गरेको छ त्यसैले अब ताइवानसँग विश्व स्वास्थ्य संगठनमा भाग लिने कुनै पनि राजनैतिक आधार छैन । ताइवानका स्वास्थ्य मन्त्री चेन शिह चुंगले एक पत्रकार सम्मेलनमा भने ‘ताइवानले चीनको शर्त कहिल्यै मान्ने छैन । त्यो कुरालाई कसरी मान्ने जो हुँदै होइन ।’ उनले ताइवानले विश्व स्वास्थ्य संगठनमा भाग लिने कोसिस गरिरहने बताए ।
Facebook Comment