फोहरमैला व्यवस्थापनमा काम गर्ने मजदुरलाई राहत

डिसी नेपाल
३ जेठ २०७७ १७:२९

काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ कालिमाटी तथा त्यस वरपर क्षेत्रको फोहरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई आज राहत वितरण गरिएको छ । महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरुलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन राहतस्वरुप वितरण गरेको हो ।

नमोस् हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष रामशरण डङ्गोलले सरसफाइका क्षेत्रमा क्रियाशील मजदुरको स्वास्थ्य जोखिम हुने हुँदा उनीहरुलाई स्यानिटाइजर, पञ्जालगायत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संयोजक सुमिरा श्रेष्ठले कोभिड–१९ का कारण अहिले भइरहेको लकडाउनमा यस्ता मजदुर तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जीविकोपार्जनमा समस्या रहेकाले आफ्नो संस्थाले सहयोग गरेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरे । स्थानीय तहले राहत वितरण गरेको भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो आएको छ । पछिल्लो समय विभिन्न धार्मिक सङ्घसंस्था तथा समाजसेवीले यस्ता वर्गलाई सहयोग गर्ने उद्देश्यले निःशुल्क भोजनको व्यवस्थासमेत गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *