सत्तारुढ विद्यार्थीले गरे भारत विरुद्ध ‘ह्यास ट्याग’ अभियान सुरु
काठमाडौं । सत्तारुढ दल नेकपा सम्बद्ध अनेरास्ववियूले भारतको दादागिरीविरुद्ध ‘ह्यास ट्याग’ अभियान सुरु गरेको छ । छिमेकी भारतले नेपाली भूमिमा एकतर्फी सडक बनाएपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ ।
अनेरास्ववियूकी केन्द्रीय सदस्य कल्पना थापाले नेपाली भूमिमाथि भारतले गरेको दादागिरीका विरुद्ध आफुहरुले ‘ह्यास ट्याग’ सुरु गरेको बताइन् । उनले भनिन्, ‘भारतले नेपालका पूर्वदेखि पश्चिमसम्मको तराइको भागमा हस्तक्षेप गर्दै आएको छ। हालै आएर नेपालको उत्तर–पश्चिम कालापानी क्षेत्रमा एकतर्फी बाटो बनाएको छ, अनेरास्ववियू लगाएत हरेक नेपालीलाई यो पच्ने कुरै हुँदैन्।’
सरकारमा रहेको पार्टीकै विद्यार्थी संगठनले भारतको दादागिरी विरुद्ध सरकारलाई रचनात्मक खबरदारी र सहयोग पनि गरिरहेको उनले बताइन् । उनले भनिन्, ‘हामीले पार्टीलाई पनि दवाव दिइरहेका छौं, तपाईहरुले सुन्नुनै भयो होला सरकारको नीति तथा कार्यक्रममा पनि कालापानी लगायतका क्षेत्र नेपाली भूमि हो र यसमा भएको विवाद कुटनीतिक माध्यामबाट सुल्झाइने छ भनेर भनिएको छ। पार्टीले, सरकारले गर्ने काम आफ्नो ठाँउमा छ। हामी युवा विद्यार्थी देशका भविश्य र कर्णद्वार भएका कारण हामीले विरोध गरेका हौं।’
कोरोनाको महामारीका कारण सडक आन्दोल गर्न नपाएको भन्दै उनले सामाजिक सञ्जालबाट भारतलाई खबरदारी गरेको बताइन । उनले भनिन्, ‘नेपालमा महामारी भएका बेला असल छिमेकीले गरेको खराब कामको हामीले विरोध गरेका हौं। सायद लकडाउन नभएको भए भारतीय दूतावास घेर्ने लगायतका धेरै कार्यक्रम हुन्थे होला। लकडाउन भएकाले सडकमा आउन मुस्किल छ । त्यसैले हामीले सामाजिक सञ्जालमा ‘ह्यास ट्याग’ अभियान चलाएका हौं।’
गत कार्तिकमा भारतले नेपाली भु–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो राजनैतिक नक्सामा समावेश गरेको थियो । नेपालमा भूकम्प गएका बेला चीन र भारतले लिपुलेकलाई दुई देशको व्यापारका लागि प्रयोग गर्ने सम्झौता गरेका थिए । २०२० मे ८मा कालापानीदेखि चीनको तिब्बत स्थित कैलाश मानसरोवरसम्म जोड्ने ८० किलोमीटर सड्कखण्डको उद्घाटन गरेको हो । कालापानी, सुस्ता लगायत नेपालको २३ जिल्लाका करिब ७५ भन्दा बढी ठाउँ भारतले अतिक्रमण गरेको छ ।
शुक्रबारदेखि सुरु भएको ‘ह्यास ट्याग’ अभियानमा लेखिएको छ ।
“हाम्रो सीमा प्रतिरक्षा गरौं,
हाम्रो भुमि फिर्ता लिऔं,
सीमा विवाद यहि साल अन्त्य गरौं ।”
Facebook Comment