मैले यसरी पढेँ मास्कभित्र, मेरी संकल्पको एकमुठी सास

डिसी नेपाल
४ जेठ २०७७ ७:४९

सुनिता बस्नेत थापा, टेक्सस अमेरिका

ढ्याम्म गाडीको अगाडिको ढोका बन्द गरेपछि पछाडि सिटमा कागजको व्यागमा राखेको एन ९५ मास्क निकाल्छे संकल्प। हातमा मास्क लिएर एकै छिन क्षितिजमा हेरेर फोक्सो नै फुल्ने गरी लामो सास लिन्छे। मानौं स्वच्छ सास फोक्सोभरी भरेकी छ। उसको ड्युटी आवरलाई पुग्ने सास संगालेकी छ भित्र।

उसलाई थाहा छ जति नै लामो सास लिए पनि यो बाहिर निस्कनै पर्छ र अर्को सर्को सास लिन पर्छ। तर, अर्को सर्को सास प्रकृतिबाट लिन पाउँदिन उसले। अबको केही घन्टा यही एन ९५ भित्र संगालिएको सास लिएर काम गर्न पर्छ उसले।

हो, उसले यो प्रकृया थालेको करिव २ महिना भइसक्यो। स्वच्छ सासको लागि छटपटाएकी छ। आधाजस्तो दिन यही एक मुठी सासमा नै बिताउन परेको छ। मास्क लाएर पुन एकचोटी क्षितिज नियाल्छे झिस्मिसे अँध्यारो छ बाहिर। सेक्युरिटी नम्बर डायल गरेर कार्यथलो प्रवेश गर्छे।

आजकाल संकल्पको अफिस परिसरभित्र छिर्न नै पनि अनिवार्य मास्क लगाउन पर्छ। यो कोरोनाको प्रकोप शुरु भएदेखि दिनचर्यामा धेरै प्रभाव परेको छ। धेरै अन्यौल र अनिश्चिततामा जीवन रुमल्लिएको छ। मानवजस्तो सामाजिक प्राणी एकार्कामा बाँध हालेर परपर बसेको छ।

सामाजिक दूरीमा बस्नु, भेटघाट नगर्नु, कसैको घर नजानु, जे पायो नछुनु आदि इत्यादि त संसारको सबैले भोगेको अवस्था हो यो बेला। तर, संसारका केही प्रतिशत मानिसले अर्को मानिससँग दूरी बनाएर बस्न सक्दैनन्। घर बस्न पाउँदैनन्। उनीहरु घर बसे भने यो कष्टकर समय अझै कष्टकर हुन्छ।

मान्छे भोकले मर्छ। उपचार नपाएर मर्छ । सुरक्षा नपाएर मर्छ। बाँच्नकै लागि अत्यावश्यक सामग्री र स्वास्थ्य, सुरक्षाका क्षेत्रमा कार्यरत कर्मचारीहरु जोखिमको वावजुद पनि घरबाट निस्किएर हिँड्नै पर्छ। अरु, कसैको ज्यान बचाउन, अरुको पेट भर्न, अरुको सुरक्षा गर्न, अनि आफ्नो रोजीरोटी चलाउन।

त्यस्तै बर्गमा पर्ने एक व्यक्ति हो मेरी साथी संकल्प। ऊ पेशाले स्वास्थ्यकर्मी। यो अवस्थाको सबैको सास र आश। तर केही समयदेखि उसले सास पनि राम्रोसँग फेर्न पाएकी छैन। यो संक्रमण सुरु भएदेखि नै उसको कार्यथलोमा अचम्मको सन्नाटा छाएको छ। कामको सुरुवात नै शरीरको तापक्रम र अक्सिजन लेभल हेरेर स्वस्थ छ भने गरिन्छ। नत्र घर पठाइन्छ ।

त्यो भनेको तपाईँ आफै अनुमान लाउनुहोस् ऊ संक्रमणको कुन लेभलको जोखिममा छे भनेर। प्रत्येक बिहान उसलाई त्यो थर्मोमिटर हेर्न डर लाग्छ कतै ज्वरो चढी हाल्ने हो कि? किनकि उसको ज्यान एकदमै दुख्छ आजकाल। अनि अर्को चिन्ताले पनि उसको सास बढाउन थालेको छ आजकाल। त्यो हो, कतै उसमा संक्रमण भएर घर फर्किन पर्यो भने उसको परिवारमा रोजिरोटीको समस्या पर्न सक्छ। हो, अवश्य नै उसको यो पेशा सेवा हो तर जीवन चलाउने मेवा पनि हो।

जीवनभर नै कसैको हात थापेर नखाएकी मेरी साथी संकल्प र ऊजस्तै लाखौं स्वास्थ्यकर्मी देश र समाजका लागि पनि आर्थिकरुपमा टेवा गरिराखेका छन् जब कि परिस्थितिले धेरै मानिसलाई बेरोजगार बनाएको छ। आज पनि आफ्नो शरीरको तापक्रम र अक्सिजन लेभल हेरेर खुशी हुन्छ ऊ किनकि नर्मल रहेछ। र, खिस्स हाँस्छे आज एक दिन स्वस्थ छु भन्ने थाहा पाएर। लाग्छ, उनले जीवनदान पाएकी हो ।

उनको मास्कभित्रको हाँसो कसैले देख्दैन। त्यही एक मुठी सासभित्र त्यो हाँसो मिसिन्छ त्यसलाई फोक्सोमा पुर्याउँछे शायद । त्यो मुस्कान कसैले नदेखे पनि उसको फोक्सो हँंदै मुटु अनि सारा शरीरभरि फैलिन्छ र आँखा हर्षले चम्किन्छन्। सोच्छे–हास्ने, खुशी हुने आफ्नै लागि हो। कति सकारात्मक प्रभाव पार्छ एक छोस्को हाँसोले!

उनको मास्कभित्रको हाँसो कसैले देख्दैन। त्यही एक मुठी सासभित्र त्यो हाँसो मिसिन्छ त्यसलाई फोक्सोमा पुर्याउँछे शायद । त्यो मुस्कान कसैले नदेखे पनि उसको फोक्सो हँंदै मुटु अनि सारा शरीरभरि फैलिन्छ र आँखा हर्षले चम्किन्छन्। सोच्छे–हास्ने, खुशी हुने आफ्नै लागि हो। कति सकारात्मक प्रभाव पार्छ एक छोस्को हाँसोले!

अब ऊ सबल योद्दा कर्मभूमिको मैदानमा उत्रिसकेकी थिइ। जरुरत थियो त अरु कवचहरुको। गाउन, टोपी, जुत्ता छोप्ने, अनि फेससिल्ड। यी सबै सुरक्षा कवच उसको दैनिक पोशाक थियो। विरामीहरुको कोठामा प्रवेश गर्नको लागि। अहिलेको सबैभन्दा प्रचलित शब्द पिपिई। पिपिई सेतो घरदेखि सिंहदरबारसम्म आइसियुदेखि चिहानघरसम्म अनि सडकदेखि सदनसम्म सबैको मुखमा झुण्डिएको शब्द।

पहिला पहिला त पिपिई लाउन रहर लाग्थ्यो उसलाई पनि। आफूले के के न गरेकोजस्तो भान हुन्थ्यो। अव त कहिले युनिफर्ममात्र लाएर काम गर्ने होला भन्ने लाग्न थालिसकेको थियो उसलाई। त्यो पिपिई देखेपछि वाक्वाकी शुरु हुन खोथ्यो उसलाई।

पिपिई निकालेर लाउन शुरु गर्छे। आधा लाईसक्दा नै खलखली पसिना आउन थाल्छ। यसको लगाउने र खोल्ने पनि आफ्नै नियम। सबै नियमपूर्वक लाउन नै २५–३० मिनेट लाग्ने। विरामीको कोठाभित्र छिरेपछि केही सामान चाहियो भने पनि बाहिर निस्किन नमिल्ने। आफ्नै शरीरको कुनै भाग पनि छुन नमिल्ने । खुइय..गर्छे। त्यो सुस्केरा पनि त्यही एक मुठी सासमा मिसिन्छ।

जो आज उसले आफ्नो सिफ्टभरि फोक्सोभित्र र बाहिर गर्ने गर्छ। त्यो एन ९५ मास्कमाथि अर्को मास्क अनि फेससिल्ड थपेर ऊ विरामीको कोठामा छिर्छे। आवश्यक जांच पड्ताल र स्याहार सुसार सकिंदा नसकिँदै दृष्य कुहिरी मन्डल हुन्छ। सायद मास्क टाइट भएन होला। हातले मिलाउन पनि छुन हुन्न। विरामी एकनास खोकिराखेको छ। काम गर्दा गर्दै २ जोर ग्लभ्स लाएको हात पसिनाले भित्रबाट निथु्रक्क भएको छ उसको।

ढाडबाट कलल खोलीजस्तो पसिना बगिरहेको छ। नाकको पसिना त मास्कले सोस्यो होला चिसो भएको छ तर माथिल्लो ओंठबाट नुनिलो पानी निरन्तर मुखमा चुहिरहेको छ। ‘उफ्..कोरोना कति सास्ति दिइस् मुख खोले पनि भन्न सक्दिन तर उसलाई चिच्याउन मन लागेको छ।’ मनबाट अनायासै निस्कन्छ। पुलु्क्क आफ्नी सहायकलााई हेर्छे ऊ।

पिपिईभित्र भएको कारणले मेरो आवाज सुनेकी रहिनछे भन्ने ठानेर सन्तोष मान्छे एकछिन्। तर, उसकी सहायक पनि बडो गम्भिर र कता कता हराएकी जस्ती नै देखिएकी थिई। ठ्याक्कै उसको मनोभाव त पढ्न सकिन संकल्पले दुबैको पिपिइको कारण। तर अनुमान लाउँछे उसको पनि त्यही एक मुठी सास रुमल्लिरहेको होला ड्युटी शुरु भएदेखिकै । आफैभित्र… कहिले आशा बनेर त कहिले निराशाको बादलले ढाकेर।

करिव एक घन्टाजति पछि कोठा बाहिर निस्किँदा त्यो एक मुठी सास पनि अलि चंगा भएजस्तो लागेको थियो उसलाई। तर तुरुन्तै फेरि अर्को विरामीको लागि अर्कै कोठामा छिर्नु थियो। पुन पिपिई लाएर तयार हुन्छे ऊ । यसपालि मास्क अलि कस्छे।

हिजोको डाममा परेछ क्यारे दुखेको भाव देखाई उसले तर खुकुलो बनाउन सकिन किनकि ऊसँग यो मास्कभित्र एक मुठी सास छ जसमा अहिले विरामीको जिवन बचाउने, आफ्नो र परिवारको स्वास्थ्य सुरक्षाको आश मिसिएको छ। यस्तै पिपिई फेराइ र मनको मनसँगैको बातमा सिफ्ट सकिन्छ आजकाल उसको।

काममा सहकर्मीहरुसंग त्यति बोलचाल हुँदैन। सबै कहीं कतै हराएका जस्ता, केही सोचमा डुबेका जस्ता देखिन्छन्। खासै कस्को अनुहार कस्तो थियो भन्ने पनि आइडी ब्याचको फोटो हेरेर चिन्नु पर्ने अबस्था आइसकेको छ। फेरि फिस्स हांसेकी होली सायद् समय र परिस्थिति देखेर त्यसैले उसका आँखा चम्किएका छन्।

जसले जे भने पनि प्रकृतिलाई कसले पो जित्न सकेको रहेछ र? यस्तै सोच र पिपिई फेरफारमा सिफ्ट सकिन्छ। थकाइले लखतरान परेको ज्यान घिसार्दै बाहिर निस्किन्छे। मास्क होसियारीपुर्वक खोल्छे । त्यो दिनभरि भित्र बाहिर गरेको एकमुठी सास प्रकृतिलाई दिन्छे। स्वच्छ सास दिन्छिन् प्रकृति संकल्पलाई । फोक्सोमा पुग्छ। त्यहाबाट मुटु अनि सारा शरीरभरि संचार हुन्छ। शरीर र दिमाग फुरुंग हुन्छ ।

प्रकृतिको औधी माया लागेर आउँछ क्षितिजमा आंखा डुलाउंछे । पुरै उज्यालो थियो क्षितिज। साच्चै नै संसार रमाइलो लाग्छ संकल्पलाई। रुखका पातहरु हल्लिएर उसैसंग भलाकुसारी गरिरहे जस्तो।आकासले अंगालो फिँजाएर स्वागत गरिरहे जस्तो। साच्चै नै रमणीय लाग्यो प्रकृति संकल्पलाई । भलै केही तत्वहरुमा प्राकृतिक उथलपुथल होलान् तर प्रकृतिले माया गर्न छोडेकी छैनन् मानवलाई।

महामारीले समस्या र त्रास खडा गरेको छ तर एक दिन यसलाई अवश्य नै जित्न सकिन्छ । सास हुन्जेल आस हुन्छ । दिनभरि मास्कभित्र गुम्सिएको एकमुठी सास स्वच्छ वनाउछिन् प्रकृति । घर गएर भलै धेरै साबधानी र शारीरिक दूरी कायम गर्न पथ्र्यो तर मन चंगा थियो संकल्पको। गुम्सिएको सास बोकेर पनि यो विरूद्ध लड्ने अठोट गरेकी थिई संकल्पले।

गाडी स्टार्ट गर्छे। विश्व प्रसिद्ध ‘मोटिभसनल स्पिकर’ लुइस हे भनिरहेकी थिइन् ‘सास बाहिर फाल्ने बेला कहिले चिन्ता लिएको छौ र अर्को सास लिन पाइएला कि नपाइएला भनेर ? यो आपसेआप चलिरहेको छ।’

मैंले संकल्पलाई पूरै पढ्न सकें यसरी। उसको र उसकी सहायकको एन ९५ मास्कभित्रको एकमुठ्ठी स्वासको यो कथाभित्र म पनि थिएँ , त्यहीं उही पीपीई लगाएरै उभिएकी। उसकै वरिपरि उस्तै पहिरन र उस्तै मनोभावमा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *