त्यो एसियाली देश जसले १२२ संक्रमित सबैलाई निको पार्‍यो, एक्टिभ केस शून्य, मृत्यु शून्य

डिसी नेपाल
५ जेठ २०७७ ९:३६

काठमाडौं। विकासको हिसाबले एसियालाई पश्चिमा युरोपेली र अमेरिकी देशहरुभन्दा पछि मानिन्छ । तर, एउटा एसियाली अल्पविकसित देशले भने देशमा १२२ संक्रमणका केस देखिँदा पनि सबैलाई निको पारेर अहिले कोरोना शून्य अवस्थामा पुगेको छ । अब यहाँ एक जना पनि संक्रमित एक्टिभ केस छैनन् । यो देशले कोरोनाका कारण एक जनाको पनि मृत्यु हुन दिएन । यो देश हो दक्षिण पूर्वी एसियाली देश कम्बोडिया ।

यो देशले शनिबार कोरोनाभाइरस पोजेटिभ अन्तिम बिरामीलाई उपचारबाट निको पारेर डिस्चार्ज गरेपछि देश कोरोनामुक्त भएको अल जजीराले लेखेको छ । शनिबार अन्तिम बिरामी ३६ वर्षीया महिला खमेर सोभियत मैत्री अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । यहाँको स्वास्थ्य मन्त्रालयले देश कोरोना शून्य भए पनि यसको संक्रमण पुनः फर्किन सक्ने खतरा रहेकोले सावधानी अपनाउन आग्रह गरेको छ ।

कम्बोडियाको दक्षिण पूर्वका तीन देशहरुसँग सीमा जोडिएको छ र बाँकी क्षेत्र समुद्रसँग जोडिएको छ । थाइल्याण्ड, लाहोस र भियतनामसँग सीमा जोडिएको यो देशको पश्चिममा भने समुद्र छ । थाइल्याण्डमा ३ हजार २८ संक्रमित देखिएकोमा २ हजार ८५६ जना निको भएका छन् भने ५६ जनाको मृत्यु भएको छ र यहाँ ११६ एक्टिभ केस छन् ।

यस्तै कम्बोडियासँग सीमा जोडिएको अर्को देश लाओसमा १९ जना मात्र संक्रमित देखिएका थिए । तीमध्ये १४ जना निको भएर घर फर्किसकेका छन् र ५ जना मात्र एक्टिभ केस छन् । यी ५ जनामध्ये कोही पनि गम्भीर नभएकोले अहिलेसम्म यहाँ मृत्युको सम्भावना न्यून छ । भियतनाममा ३२० संक्रमित देखिएकामा २६० जना निको भइसकेका छन् । यहाँ अहिलेसम्म कसैको मृत्यु भएको छैन तर ६० एक्टिभ केसमा २ जना गम्भीर भएकोले खतरा भने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *