यो वर्ष यार्सागुम्बा टिप्न प्रतिबन्ध

डिसी नेपाल
५ जेठ २०७७ १२:२४

काठमाडौं। नेपाल सरकारले यो वर्ष यार्सा गुम्बा संकलन गर्ने काममा रोक लगाएको छ। वन तथा वातावरण मन्त्रालयले कोरोना महामारीविरुद्ध मुलुकमा लकडाउन जारी रहेको अवस्थामा हिमाली क्षेत्रमा गई यर्सा गुम्बा संकलन गर्ने काम सम्भव नहुने भन्दै संकलन कार्यलाई निषेध गर्ने निर्णय गरेको हो।

हिमाली सुनको नामले पनि चिनिने अत्यन्त दुर्लभ सो जडीबुटी संकलन गर्न हरेक वर्ष जेठ महिनाको पहिलो सातादेखि हिमाली क्षेत्रहरुमा ५० औं हजार मानिसहरु पुग्ने गर्दथे।

विशेषत दार्चुला, जुम्ला, डोल्पा, हुम्ला, मुगु, बझांग, जाजरकोट, रुकुम, म्याग्दी, धादिङ र सिन्धुपाल्चोकका दुर्गम पहाडी क्षेत्रहरुमा हरेक वर्ष यो जडीबुटी उम्रने र यसको मूल्य प्रतिकेजी लाखौं हुने हुँदा त्यस क्षेत्रका मानिसहरु सबै काम छाडेर यार्सागुम्बा टिप्न जाने गर्दछन्। तर विगत केही वर्षदेखि सो जडीबुटी टिप्न जाने सर्वसाधारणभन्दा त्यसको ठेकेदारी गर्ने तस्कर र दलालहरुको बढी बोलवाला हुने गरेको छ।

दलका केही नेताहरु र केही सांसदहरु तथा पूर्व लडाकूहरुको समूह नै यार्सागुम्बा तस्करीमा लागेकाले विगत वर्षहरुमा अपराधका घटनाहरुसमेत भएका थिए। आधा शरीर किरा र आधा शरीर झार हुँदै जेठको मौसममा पूर्ण जडीबुटी बन्ने यार्सा गुम्बाको प्रति गोटा १ हजारदेखि १५०० रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ। छिमेकी मुलुक चीन यसको ठूलो बजार हो भने अन्य मुलुकहरुमा पनि यसको निकासी हुने गरेको छ।

शक्तिबद्र्धक, आरोग्यबद्र्धक र यौनबद्र्धक औषधि मानिने यो जडीबुटी टिप्न रोक्ने निर्णयमा सरकार अडिन सक्ला वा सर्वसाधारणलाई तर्साउनमात्र रोक लगाएको भन्दै तस्कर र दलालहरुलाई सजिलो बनाउन खोजिएको हो? त्यो भने अवका केही हप्ताले नै देखाउने छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग निमित्त महानिर्देश रामचन्द्र कँडेलले लकडाउनले गर्दा यो वर्ष यार्सा गुम्बा संकलन गर्न रोक लगाइएको बताए।

‘लकडाउनको अवस्थामा जंगलमा सामाजिक दूरी कायम गर्न सकिने अवस्था हुँदैन, यार्सा टिप्न जाँदा ठूलो संख्यामा स्थानीय जाने भएकाले पनि यो वर्षलाई रोक्का गर्ने निर्णय भएको हो,’ निमित्त महानिर्देशक कँडेलले डिसी नेपालसँग भने, ‘स्थानीय तहसँगको समन्वयमा जनताको जिउ धनको रक्षा गर्नका लागि यो वर्षका लागि यार्सा बुम्का संकलनमा रोक लगाउने निर्णय गरेका हौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *