लकडाउनमा बढ्न थाल्यो महंगी

डिसी नेपाल
५ जेठ २०७७ १६:०१

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसको संक्रमण रोक्न गरिएको लकडाउनले महंगी बढ्न थालेको छ। बजारमा खाद्यान्न, फलफूल, तरकारीलगायतका दैनिक उपभोग्य सामानहरुको मूल्यबृद्धि भएको छ । तर, निर्माण सामाग्रीको मूल्य भने घटेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको आर्थिक अवस्था सम्बन्धी प्रतिवदेन अनुसार २०७६ चैतमा मूल्यवृद्धिदर (मुद्रास्फीति) ६.७४ प्रतिशत पुगेको छ। यसअघि फागुनमा मूल्यवृद्धिदर ६.७० प्रतिशत थियो भने अघिल्लो वर्षको सोही महिनामा ४.४४ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्यबृद्धिदरलाई ६.५ प्रतिशतभित्र सिमित राख्ने लक्ष्य लिएको थियो।  राष्ट्र बैंकका अनुसार २०७७ चैतमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । तर, निर्माण सामाग्रीको मूल्य भने घटेको छ। चैत महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो।

चैतमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.२० प्रतिशत, ८.४७ प्रतिशत र २.७५ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य भने ३.७६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *