सामान्य जीवनतर्फ फर्किंदैछ युरोप, ४० तस्वीरमा हेर्नुहोस् महामारीपछिको पहिलो सप्ताहान्त
काठमाडौं। सार्वजनिक जीवनमा धेरै सावधानीका साथ युरोपका देशहरुले लकडाउन खोल्ने विषयमा संयुक्त सहमति जनाएसँगै युरोपका सार्वजनिक स्थलहरु पुनः खुलेका छन् । महिनौं लामो लकडाउनपछि सार्वजनिक जीवन खुल्दाको पहिलो सप्ताहान्तमा मानिसहरुको चहलपहल देखियो । उता विश्व स्वास्थ्य संगठनले भने भाइरसको दोस्रो लहर आउन बाँकी नै रहेको भन्दै अहिले खुसी मनाउन भन्दा त्यसको लागि तयार रहन चेतावनी दिएको छ ।
इटलीले बार, क्याफे, हेयर ड्रेसर र अधिका.श अन्य खुद्रा व्यवसायलाई सोमबारदेखि खुल्न दिने भएको छ । चर्च सेवा समेत पुनः सुरु गर्न अनुमति दिइएको छ । खासमा यसअघि इटली सरकारले बार र क्याफेहरुलाई जून १ सम्म बन्द नै राख्न भनेको थियो तर प्रदेशका गभर्नरहरुले यी कुराहरु खुलाउन निरन्तर दबाब दिएपछि केन्द्र सरकारले खुल्न दिने निर्णय गरेको हो । अब इटलीमा हरेक प्रदेशले यी व्यवसाय खोल्ने र बन्द गर्ने आफ्नै समय तालिका निर्धारण गर्नेछन् । एक राज्यबाट अर्को राज्य यात्रा गर्न भने अझै अनुमति दिइएको छैन ।
स्पेनका अधिकांश राज्यहरु पुनः खुला गर्ने प्रक्रियाको फेज १ मा प्रवेश गर्दैछन् । जसअनुसार साना व्यवसायहरु खोल्न पाइनेछ जसको बाहिर बस्ने ठाउँको व्यवस्था गरिएको छ । बार र क्याफेहरुमा एक पटकमा अधिकांश १० जनालाई प्रवेश अनुमति दिइएको छ । बार्सिलोना र मड्रिडका हटस्पटहरुमा पनि पहिले लागू गरिएको कडाइ खुकुलो पारिनेछ । अन्तिम संस्कारको लागि १० जना जम्मा हुन अनुमति दिइएको छ । चर्चहरु आफ्नो क्षमताको ३३ प्रतिशत मात्र मानिसहरु राखेर फेरि सुरु गर्न सकिनेछ ।
युरोपका देशहरुले भाइरसमाथि धेरै हदसम्म जीत हात पारे पनि विश्व स्वास्थ्य संगठनका युरोप निर्देशक डा. हान्स क्लगले भने यी देशहरुले खुसी मनाउनु भन्दा भाइरसको सम्भावित अर्को लहरसँग जुध्नको लागि तयारी गर्नुपर्ने बताएका छन् । कुनै भ्याक्सिन वा प्रभावकारी उपचार उपलब्ध नहुँदासम्म पुरानै अवस्थामा फर्किंदा भाइरसको दोस्रो र सम्भवतः अहिलेको भन्दा अझै बढी हानीकारक लहर आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । ‘यो खुसी मनाउने नभइ पूर्वतयारी गर्ने समय हो’ डा. क्लगले भनेका छन् ।
फ्रान्समा लकडाउनको कडाइ खुकुलो पारिएपछि मानिसहरु सप्ताहान्तमा समुद्र किनारमा भेला भए । स्यान्डी शोर्स अफ ल्याकानाउ, जो महामारीका कारण बन्द गरिएको थियो, आइतबार यो पुनः जीवन्त देखियो । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार क्षेत्रीय अधिकारीहरुले आइतबार ८७ मृत्यु रिपोर्टिङ गरेका छन् । यो मार्च १६ देखि यता १ दिनमा सबैभन्दा कम मृत्यु हो । इटलीले आइतबार मार्च १० देखि यताको सबैभन्दा कम १४५ मृत्यु रिपोर्टिङ गरेको थियो भने स्पेनले ८७ मृत्यु रिपोर्टिङ गरेको थियो जुन मार्च १५ देखि यताको सबैभन्दा कम दैनिक मृत्यु हो ।
Facebook Comment