निर्जीवन बीमा कम्पनीले मात्र कोरोना बिमा बिक्री गर्न नपाउने

डिसी नेपाल
५ जेठ २०७७ १६:५४

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनी बाहेकलाई कोरोना बीमालेख बिक्री नगर्न निर्देशन दिएको छ । जीवन बीमा कम्पनीका साथै सहकारी लगायत अन्य संस्थाहरुले पनि कोरोना बीमा बिक्री गर्न थालेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

समितिले सोमबार निर्देशन जारी गर्दै निर्जीवन बीमा कम्पनीहरुले बिक्री गर्ने गरी स्वीकृत गरिएको कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरोना बीमा गरिदिन व्यहोराको सूचना आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले निर्जीबन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संस्थाहरुलाई कोरोना बीमासँग जोडेर आफ्ना सेवा व्यवसाय तथा विज्ञापन नगर्न समेत निर्देशन दिएको छ ।समितिका अनुसार हालसम्म करिब ६७ हजार सर्वसाधारणले कोरोना भाइरसको बीमा गरेका छन् ।

समितिका अनुसार बीमा कम्पनीहरुले ५० हजार र एक लाख रुपैयाँ बराबर बिमांक बराबरको बीमा लेख जारी गर्न सक्नेछन् । ५० हजार रुपैयाँ बीमांक बराबरको बीमा लेख जारी गर्दा एक जनाको मात्र सुरक्षणमा प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारका सबै सदस्यको समेत बीमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बिमा शुल्क तोकिएको छ ।

यसैगरी १ लाख रुपैयाँ बिमांक बराबरको पोलेसी जारी गर्दा व्यक्तिगत बिमामा एक हजार रुपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क तोकिएको छ ।

कोरोना बिमालेख खरिद गरेको व्यक्तिको पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बीमितले दावी भुक्तानी प्राप्त गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *