कोरोनाका कारण अर्थतन्त्रमा पौने २ खर्वको क्षति

डिसी नेपाल
६ जेठ २०७७ ९:५५

काठमाडौं। कोरोना भाइरस (कोभिड १९) र यसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण अर्थतन्त्रमा पौने २ खर्वको क्षति पुगेको छ।

अर्थतन्त्रका सवै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिन थालेको छ र यसले कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको नेपाल राष्ट्र बैंकले प्रारम्भिक अनुमान गरेको हो।

कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित छन् भने आपूर्ति श्रृंखला प्रभावित छ। ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको छ। यसैगरी सार्वजनिक यातायात बन्द रहेको अवस्था छ।

गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान छ। विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष
२०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ।

कोभिड–१९ को प्रभाव शुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि न्यून रहने देखिन्छ।

२०७६ फागुनको तुलनामा २०७६ चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति बढेको छ। कुल निर्यात, आयात र विप्रेषण घटेको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ।

२०७६ चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको छ। निक्षेपको भारित औसत व्याजदर सीमान्त घटेको छ भने कर्जाको व्याजदर स्थिर रहेको राष्ट्र बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *