कोरोनाभाइरसः सबैभन्दा धेरै आशा गरिएको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिन फेल !
काठमाडौं। कोरोनाभाइरसको रोकथामका लागि विकास भइसकेका भ्याक्सिनहरुमध्ये सबैभन्दा अगाडि रहेको दावी गरिएको अक्सफोर्ड विश्वविद्यालयको भ्याक्सिनले बाँदरमा कोरोनाभाइरस रोक्न नसकेको र आंशिक रुपले मात्र प्रभावकारी हुन सक्ने विशेषज्ञहरुले चेतावनी दिएका छन् । द टेलिग्राफको समाचार अनुसार रिसस म्याकक प्रजातिको बाँदरमा गरिएको ट्रायलका क्रममा यो भ्याक्सिनले यो जनावरलाई भाइरस संक्रमित हुनबाट रोक्न नसकेपछि यसको मानवमा प्रभावकारितामाथि प्रश्न उठेको हो ।
चाडोक्स १ एनसीओभी १९ नामको यो भ्याक्सिनको बेलायतमा मानवमा ट्रायल जारी छ । बेलायत सरकारले यो भ्याक्सिन विकसित गर्नको लागि अक्सफोर्ड विश्वविद्यालय र औषधी निर्माता कम्पनी एस्ट्राजेनेकासँग सम्झौता पनि गरिसकेको छ । भ्याक्सिन सफल भएको अवस्थामा यसको ३ करोड डोज उत्पादन गर्नको लागि यो सम्झौता भएको हो । यसको अनुसन्धानको लागि समेत सरकारले ४७ मिलियन पाउण्ड दिने बताइसकेको छ ।
अक्सफोर्ड भ्याक्सिन दिइएका बाँदरहरुलाई भाइरस प्रतिरोधक क्षमता विकास भए नभएको परीक्षण गर्नका लागि भाइरसबाट संक्रमित गराइँदा सबै बाँदरहरु संक्रमित भएका हार्वर्ड स्कुल अफ मेडिसिनका पूर्व प्राध्यापक डा. विलियम हस्लाइनले बताए । डा. विलियमले एचआइभी एड्सको उपचार विकासमा महत्वपूर्ण भूमिका निभाएका थिए । ‘भ्याक्सिन नदिइएका जनावरको तुलनामा भ्याक्सिन दिइएका बाँदरहरुमा भाइरल आरएनएको परिमाणमा कुनै फरक देखिएन जसको अर्थ सबै भ्याक्सिन दिइएका जनावरहरु संक्रमित थिए’ डा. विलियमले फोर्ब्समा लेखेको लेखमा उल्लेख गरेका छन् ।
युनिभर्सिटी अफ नटिङघममा मोलिक्युलर भाइरोलोजीका प्रोफेसर जोनाथन बलका अनुसार विकसित प्रतिरोधी क्षमताले संक्रमित जनावरहरुबीच भाइरस फैलिने क्रम रोक्न असमर्थ भएको देखिन्छ । ‘भ्याक्सिन दिइएका र नदिइएका जनावरहरुको नाकमा भाइरस लोड समान हुनु धेरै महत्वपूर्ण छ । यदि मानवमा पनि यतै भयो भने भ्याक्सिन दिनुले संक्रमण फैलिने क्रम रोक्ने छैन’ उनले द टेलिग्राफसँग भने ‘म वास्तवमै यो मान्छु कि यो चाडोक्स १ भ्याक्सिनको मानवमा जारी ट्रायलको तत्काल पुनः मूल्यांकन हुनुपर्छ ।’
अक्सफोर्ड भ्याक्स्निको रिसस म्याकक बाँदरमा प्रतिरोधी क्षमता विकास सम्बन्धी यो अध्ययन अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थको रकी माउन्टेन ल्याबोरेटरीमा भएको हो । पहिले यसका नतिजा उत्साहजनक देखिएका थिए । तर गत हप्ता प्रकाशित ट्रायलको पूर्ण रिपोर्टमा भने यो भ्याक्स्निले जनावरलाई भाइरस संक्रमित हुनबाट बचाउन नसकेको उल्लेख गरिएको छ । यद्यपि यसले भाइरस संक्रमणको तीब्रता भने घटाएको पाइएको छ ।
यो चीनमा अप्रिलमा भएको अर्को भ्याक्सिन ट्रायलको विपरित हो । चीनमा ट्रायल गरिएको भ्याक्सिनले भने बाँदरमा भाइरसको विकास रोक्न सफल भएको थियो । बेइजिङको कम्पनी सिनोभ्याक बायोटेकले यसको भ्याक्सिनमा सार्स सीओभी २ भाइरसको परिष्कृत संकरण प्रयोग गरेको थियो । अक्सफोर्डले भने भ्याक्सिनमा साधारण रुघाखोकीको भाइरस प्रयोग गरेको थियो । अक्सफार्डको बाँदर ट्रायलमा ६ वटा बाँदरलाई चाडोक्स १ एनसीओभी १९ को सिंगल डोज दिएर भाइरससँग एक्सपोज गरिएको थियो । भ्याक्स्नि नदिइएका अन्य ३ बाँदरलाई पनि संक्रमित गरिएको थियो । त्यसपछि भ्याक्सिन दिइएका र नदिइएका दुवै किसिमका बाँदरमा ७ दिनसम्म भाइरस विकासबारे अध्ययन गरिएको थियो ।
Facebook Comment