बञ्चरो प्रहार गरी बुबाको हत्या गर्ने छोरी पक्राउ

डिसी नेपाल
६ जेठ २०७७ १६:३९

मङ्गलबारे । बुबाको हत्या गरी फरार रहेकी सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय बुबा फुलबहादुरलाई गए राति हत्या गरी फरार रहेकी छोरीलाई नजिकैको जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो ।

इलाम सन्दकपुर गाउँपालिका–३ स्थायी घर भइ माइत देउमाई नगरपालिका–६ शान्तिडाँडामा बसोबास गर्दै आएकी सुष्माले घरायसी निहुँमा बुबाको हत्या गरेको बताइएको छ । सुष्माले बुबालाई टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेकी थिइन् । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मङ्गलबारेको संयुक्त टोलीले खोज तथा अनुसन्धान गरी आजै सुष्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलबाट दक्षिणतर्फको जङ्गलमा लुकेर बसेकी उनलाई प्रहरीले पक्राउ गरको छ । उनको साथबाट बञ्चरोसमेत नियन्त्रणमा लिइएको छ । सुष्मालाई जिल्ला प्रहरी कार्यालय इलामबाट कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *