लकडाउनले थन्किएका सवारीसाधनको बीमा शुल्क छुट हुने
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि गरिएको लकडाउन अवधिमा थन्किएपछि सवारी साधनको बीमा शुल्कमा छुट दिन बीमा समितिले निर्देशन दिएको छ ।
समितिले मंगलबार निर्देशन जारी गर्दै निर्जीवन बीमा कम्पनीहरुलाई लकडाउनमा नचलेका सवारीसाधनको बीमा प्रिमियमा छुट दिन निर्देशन दिएको हो ।
निर्देशन अनुसार कम्पनीहरुले कूल वार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाको जोखिम कट्टा गरी बाँकी दुई तिहाईमा समानुपातिक छूट दिनुपर्नेछ । कुल प्रिमियम हिसाब गर्दा तेस्रो पक्ष, यात्रु, कर्मचरी बीमा लगायत जोखिम समुहको समेत गणना गर्नुपर्नेछ ।
यसैगरी छुट रकम सवारी साधनको बीमा नवीकरण गर्दा नवीकरण शुल्कमा समायोजन गर्नुपर्ने निर्देशन छ ।
२०७६ चैत्र ११ गतेदेखि लकडाउन नहटाएसम्मको समयावधिलाई सवारी थन्किएको अवधि मान्नुपर्ने र अत्यावश्यक सेवाका सवारी साधनको हकमा सरकारले सवारी साधन सञ्चालन गर्न अनुमति दिएको समयलाई थन्किएको अवधि गणना गर्नुनपर्ने निर्देशनमा उल्लेख छ ।
यसैगरी चालु आवमा दाबी परिसकेको सवारी साधनको हकमा भने थन्किएको अवधिको छूट लागू नहुने निर्देशनमा उल्लेख छ ।
Facebook Comment