खाडीमुलुकमा सबैभन्दा धेरै कोरोना संक्रमित साउदी अरबमा, मृतककाे संख्या पनि अन्यत्र भन्दाबढी

डिसी नेपाल
६ जेठ २०७७ २०:०६

काठमाडौँ । खाडीमुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी साउदी अरब प्रभावित भएको छ । साउदीमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या करिब ६० हजारको नजिक पुगेको छ ।

साउदीको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप २ हजार ५ सय ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ५९ हजार ८ सय ५४ पुगेको छ ।

मन्त्रालयका अनुसार साउदीमा कोरोना भाइरसले ३ सय २९ जनाको ज्यान लिएको छ । मंगलबार मात्रै ९ जनाले ज्यान गुमाएका हुन् ।

साउदीमा उपचारपछि निको हुनेको संख्या पनि धेरै छ । हालसम्म संक्रमितमध्ये ३१ हजार ६ सय ३४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । मंगलबार मात्रै २ हजार ८ सय ८६ जनाले स्वास्थ्य लाभ गरेको मन्त्रालयले जनाएको छ ।

साउदीमा उल्लेख्य संख्यामा नेपालीहरूले रोजगारी गर्दै आएका छन् । साउदीमा थुप्रै नेपाली कामदार पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । रियादमा रहेको नेपाली दूतावासले केहीदिन अघि सार्वजनिक गरेको तथ्याङक अनुसार ६ सय ७४ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय संक्रमित नेपालीको संख्या पनि बढेकाे हुनसक्ने अनुमान गरिएको छ । साउदीमा कोरोनाकै कारण अहिलेसम्म ४ जना नेपालीले ज्यान गुमाएका छन् ।

खाडीका अन्य देशमा कस्तो छ अवस्था ?

खाडीमुलुकमा साउदी अरबपछि सबै भन्दाबढी कतारमा संक्रमित भेटिएका छन् । मंगलबारसम्म कतारमा ३५ हजार ६ सय ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये १५ जनाको ज्यान गएको छ,भने ५ हजार ६ सय ३४ जना उपचारपछि निको भएका छन् ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङक छैन ।दूतावासले यकिन तथ्याङक आफूसँग नभएता पनि नेपालीहरु संक्रमित भने भएको बताउँदै आएको छ । संक्रमित भएका नेपालीहरुमध्ये कतिपय निको समेत भएका छन् ।

कतारपछि संक्रमति धेरै भेटिएको देश हो यूएई । यूएईमा हालसम्म २५ हजार ६३ जनामा कोरोनाको संक्रमण देखिएको छ । तर, कतारमा भन्दा यूएईमा मृत्यु हुनेको संख्या निकै धेरै छ । यूएईमा संक्रमितमध्ये २ सय २७ जनाले ज्यान गुमाएका छन् । जसमा ९ जना नेपालीसमेत रहेका छन् । एनआरएनए स्वास्थ्य समितिका अनुसार यूएईमा २ सय भन्दाबढी नेपाली संक्रमित भएका छन् ।

त्यस्तै कुवेतमा हालसम्म १६ हजार ७ सय ६४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय २१ जनाको मृत्यु भएको छ, भने ४ हजार ६ सय ८१ जना उपचारपछि निको भएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङक अनुसार २ सय ८४ जना नेपाली श्रमिक संक्रमित भएका थिए । तर, पछिल्ला दिनमा संक्रमित नेपालीको संख्या बढ्दै गएको अनुमान गरिएको छ ।

खाडीको अर्काे देश बहराइनमा मंगलबारसम्म कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ७४ पुगेको छ । संक्रमितमध्ये १२ जनाको ज्यान गएको छ भने २ हजार ९ सय ५२ जना उपचारपछि निको भएका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार हालसम्म ३ सय ३१ नेपाली श्रमिकमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

खाडीमा सबैभन्दा कम संक्रमित देखिएको देश हो ओमन । ओमनमा हालसम्म ५ हजार ६ सय ७१ जना कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये २६ जनाको ज्यान गएको छ, भने उपचारपछि निको हुनेको संख्या १ हजार ५ सय ७४ पुगेको छ । ओमनमा हालसम्म नेपाली संक्रमित भएको आधिकारिक जानकारी प्राप्त भएको छैन । ओमनले पनि संक्रमितको राष्ट्रियता खुलाउने गरेको छैन । तसर्थ त्यहाँ पनि केही नेपाली संक्रमित भएको हुनसक्ने अनुमान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *